आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदै
एक्सन खबर
काठमाडौं, ३१ जेठ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ ।
रगतकाे अभाव नहाेस्, रक्तदान गर्न अभिप्रेरित गर्न सकियाेस भनेर रक्तदाता दिवस मनाइने गरिएकाे हाे । साथै, रक्तदान जीवनदान भन्ने नारा अनुसार रक्तदातालाई धन्यवाद दिन पनि रक्तदाता दिवस मनाउने गरिन्छ ।
यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । याे नाराले जीवन रहुन्जेल रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ ।
आजकाे दिन देशभरका विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य संस्थाहरूले रक्तदान गर्ने, रक्तदानसम्बन्धी जनचेतना फैलाउने जस्ता कार्यक्रम आयोजना गरेका छन् । ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । एसोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एसोसिएसनका महासचिव केशव मर्हजनले जानकारी दिए ।
मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो । सन् २००५ मा ५८औं विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो ।
0 प्रतिकृया