कानुनको धज्जी उडाउँदै अस्पतालमा तोडफोड, चिकित्सकलाई ज्यान मार्ने धम्की
एक्सन खबर
काठमाडौं, ३१ जेठ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ ले कुनैपनि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीमाथि आक्रमण, तोडफोड, वा कुनै क्षती पुग्ने कार्यमा संलग्नलाई विना धरौटी पुर्पक्षमा राख्न सक्ने व्यवस्था गरेको छ । साथै, यस्ता कार्यमा संलग्नलाई ४ वर्ष कैद, २ लाखसम्मको जरिवाना समेतको व्यवस्था गरेको छ । तर, मंगलबार नेपाल मेडिकल कलेज जोरपाटीमा बिरामीका आफन्तजनले उक्त कानुनको धज्जी उडाउँदै चिकित्सक र अस्पतालमाथि आक्रमण गरे । ज्यान मार्नेसम्मको धम्की दिए ।
जेठ २७ गते पित्तथैलीमा पत्थरी भई उपचारका लागि भर्ना भएका गोकर्णेश्वर नगरपालिका माकलबारीका ७१ वर्षीय सुवर्ण कुमार धितालका आफन्तले जेठ ३० गते मंगलबार अपरान्ह ५ बजेतिर अस्पतालमा कार्यरत चिकित्सक तथा सुरक्षाकर्मीलाई समेत आक्रमण गरी अस्पताल तोडफोड गरेका हुन् । उनको २८ गते पित्तथैलीको अप्रेसन गरिएको थियो ।
सो क्रममा उनीहरुले एक सुरक्षाकर्मीलाई घाइते बनाए भने, इमरजेन्सी, आइसियू र अपरेशन थिएटरमा कार्यरत चिकित्सकहरुलाई ज्यान मार्नेसम्मको धम्की दिएको कलेजका अस्पताल इन्चार्ज दिलीप साहले बताए ।
‘हामीले पटकपटक बिरामीको आफन्तहरुलाई उपचारमा चित्त नबुझे कानुनी उपचारमा जान सल्लाह दियौं । हाम्रा सबै रिपोर्टहरु उहाँहरुलाई खुलस्त देखाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदा जनाउँदै एक्कासी आक्रमण गरे ।’ आक्रमणकारीले आइसियू, ओटीमासमेत पुगेर डाक्टर नर्सहरुलाई ज्यानै मार्नेसम्मको धम्की दिएकाले चिकित्सकले निर्धक्क भएर काम गर्नसक्ने वातावरण नबनेको अस्पताल इन्चार्ज साह भन्छन् ।
अस्पतालमा तोडफोड हुँदा प्रहरी प्रशासनले समेत बेवास्ता गरेको अस्पताल प्रशासनको भनाई छ । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड, चिकित्सक माथि आक्रमण गर्नु राम्रो हैन । कुनैपनि स्वास्थ्य संस्था र चिकित्सकले बिरामी मार्छु भन्दैन । बिरामीको सेवा गर्न र ज्यान बचाउन नै डाक्टरहरु बसेका हुन्छन् ।’ मेडिकल कलेजमा भएको घटनाको निन्दा गर्दै गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले बताइन् । छानविन गर्ने, पिडितलाई न्याय दिने निकाय हुँदाहुँदै बिरामीको पक्षले अस्पताल र डाक्टरमाथि कानुन विपरित आक्रमण गरेकोले कानुनी दायरामा आउनुपर्ने तामाङको भनाई छ ।
कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले उपचारमा चिकित्सक तथा अस्पतालबाट लापरवाही भएको भए आफुहरु सजायको भागीदार हुन तयार हुने तर, अस्पताल र चिकित्सकमाथि ज्यानै लिने गरी हुने आक्रमण भने सैह्य नहुने बताए । ‘सम्बन्धीत निकायमा जाउँ, कानुनमा जाउँ, निष्पक्ष छानविनका लागि हामी सहयोग गर्छौं । तर, अस्पताल तोडफोड गर्ने, डाक्टर कुट्ने, ज्यान मार्ने धम्की दिने छुट कसैलाई छैन । दोषीलाई पक्राउ गरी तुरुन्त कारवाही गर्नुपर्छ ।’ अस्पताल र चिकित्सक माथि आक्रमण गर्नेलाई पक्राउ नगरुञ्जेल ओपिडी सेवा सुचारु गर्न नसकिने अन्सारीले बताए ।
अस्पताल तोडफोड र चिकित्सकमाथिको आक्रमणको नेपाल चिकित्सक संघले विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । संघका महासचिव डा. सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानूनी कारबाही गर्न माग गरेका छन् ।
‘उपचारत विरामीको गाम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पु¥याई बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ महासचिव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मेडिकल कलेजले पनि सूचना जारीगरी अस्पताल तोडफोडमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी नबढाएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमरजेन्सी बाहेक सम्पूर्ण ओेपिडी सेवाहरु बन्द रहने जनाएको छ ।
जेठ २७ गते उपचारका लागि भर्ना भएका बिरामीको २८ गते ल्याप्रोस्कोपिक कन्भरटेड टु ओपन कोलासिस्टेककोमी सर्जरी गरी उपचार हुँदै गरेकोमा बिरामीको अकस्मात हाइपोक्सिक इस्केमिक इन्सेफ्यालोप्याथी भइ आइसीयूमा उपचार भइरहेको छ ।
यसरी भएको थियो बिरामीको उपचार
सर्जरी विभाग प्रमुख डा. सुनिल श्रेष्ठ, नेपाल मेडिकल कलेज
गोकर्णेश्वर नगरपालिका बस्ने ७१ वर्षीय सुवर्णकुमार धितालको पित्थथैलीमा विगत ४, ५ वर्षदेखि पत्थरी देखिएको थियो । जेठ २७ गते उनी उपचारका लागि नेपाल मेडिकल कलेज आए । त्यहाँ उनको सबै स्वास्थ्य जाँच गर्दा उनलाई उच्च रक्तचाप, मधुमेह सहित प्रोेस्टेट ग्रन्थी बढेको पाइयो । त्यसपछि एनेस्थेसिया, सर्जरी विभाग लगायतका चिकित्सकहरुले ल्याप्रोस्कोपीबाट पत्थरी निकाल्न सकिने तर अन्य रोगहरु समेत रहेकाले रिस्क हुने ठहर गर्याैं ।
चिकित्सकीय मुल्य मान्यता अनुसार बिरामीको उपचार गर्नुपर्ने भएकाले कलेजका चिकित्सकहरुले बिरामी धितालका आफन्तजनसँग उनको स्वास्थ्य स्थितिका कारण अप्रेसन गर्नेक्रममा देखिन सकिने समस्याहरुका बारेमा अवगत गराएका थियाैं ।
सबै प्रक्रियामा बिरामीका आफन्तले सहमति जनाएपछि उच्चरक्तचाप, मधुमेहका रोगी समेत रहेका धितालको पित्तथैलीको पत्थरी निकाल्न सुरुमा ल्याप्रोस्कोपी पद्दतिबाट क्यामरा राखेर हेर्दा उनको पित्तथैली सुकेको अवस्थामा देखियाे । सुकेर कलेजोले ढाकेको अवस्थामा रहेको पित्तथैलीलाई छुटाउने क्रममा कलेजो र पित्तथैलीको विचमा अस्वभाविक रुपमा नशाहरु टास्सिएको अवस्थामा देखिएको थियो । सामान्यतया नदेखिने ती नसाहरु छुट्याउने क्रममा नसा काटिएर ब्लिडिङ भयो ।
त्यसपछि तत्कालै ओपन सर्जरीबाट पित्तथैलीको अप्रेसन गर्ने तथा काटिएको नशाहरु ठिक गर्ने कार्य गरिरहँदा अत्याधिक ब्लिडिङ भयो । तथापि, करिब २ घण्टाको अप्रेसन प्रक्रिया पछि ब्लिडिङ पनि रोक्न सफल भयाैं । यसविच बिरामीलाई रगत चढाउने कार्य पनि गरिएको थियो ।
अत्याधिक ब्लिडिङ भएकाले बेहोस अवस्थामा रहेका बिरामीलाई तत्कालै होसमा ल्याउने अवस्था बनेन । हामीले सोही अवस्थामा भेन्टिलरको सपोर्टमा आइसियूमा ट्रान्सफर गर्याैं। आइसियूमा राखेको भोलीपल्ट पनि बिरामी पूर्णहोसमा नआएपछि उनलाई ‘ग्लास्गो क्रोमा स्केल’ भएको ठहर गर्याैं । त्यस अवस्थामा बिरामीका अन्य प्यारामिटरहरुले काम गरेपनि मस्तिष्कले काम नगर्ने हुन्छ । अहिले बिरामीलाई आइसियूमै राखिएको छ । बिरामीको मस्तिस्कमा रगतको मात्र बढाउन र होसमा ल्याउन उपचार भइरहेकाे छ । यद्यपि, बिरामीको अवस्था गम्भिर रहेको छ ।
धितालको उपचारमा कुनै लापरवाही नभएको उपचारमा संलग्न चिकित्सकहरुको जिकीर छ । ‘उहाँको मिर्गौलाले काम गरिरहेको छ, पिसाब भइरहेको छ । ब्लड प्रेसर आफैं थामिएको छ । ब्रेनमा प्रेसर बढाउन एजेन्ड दिइरहेका छौं ।’ चिकित्सकको भनाई छ ।
उपचारमा कुनै गुनासो भए, कमजोरी भए त्यसको निष्पक्ष छानविन, अनुसन्धान र कारवाहीको कानुनी बाटो हुँदाहुँदै बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक, नर्स र सुरक्षाकर्मी समेतलाई आक्रमण गरेपछि उनीहरु त्रासमा छन् ।
तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी, पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउनेलाई पनि पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था गरिएको छ ।
0 प्रतिकृया