भगबती चाैधरीकाे प्रश्नः जनताको सेवाका लागि खाेई बजेट ?
एक्सन खबर
काठमाडौं, ३२ जेठ । नेकपा एमालेकी सांसद भगबती चौधरीले बजेटमा पाँच रुपैयाँ मात्रै कायम गर्न सुझाव दिएकी छिन् । बिहिवारको प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक माथिको छलफलमा बोल्दै चौधरीले बजेटको न्यायोचित वितरण नभएको तर्क गरिन् ।
‘सबै पालिकाको भौगौलिक अवस्थिति अनुसार सन्तुलितढंगले बजेट विनियोजन हुनुपर्ने थियो । तर, नेताहरुको मनोमानीढंगले बजेट छुट्याइयो ।’ उनले भनिन्–‘भूगोलसँग परिचित माननीय ज्यूहरुको सुझावलाई मन नगरिएको थियो भने यसरी बजेट असन्तुलिनत हुँदैन थियो । यो बजेट न्यायोचित रुपमा वितरण नभएको हुनाले, सम्पुर्ण बजेट कटौती गरेर पाँच रुपैयाँ मात्रै राखियोस् भन्ने प्रश्ताव राख्न चाहन्छु ।’
सांसद चाैधरीले नियमावलीमा १ रूपैंया मात्र राखियाेस भन्ने भएतापनि हाल चलनचल्तीमा एक रूपैंया नरहेकाले ५ रूपैंया प्रस्ताव गरिएकाे बताइन् ।
उनले सांसदहरुले आफ्नो लेटरप्याडमा बजेटका बारे सुझाव दिइएको कुरालाई बेवास्ता गरिएको प्रति आपत्ति जनाइन् । बजेट बनाइदा सबै पालिका र जिल्लामा एउटा मापदण्ड तय गरेर मात्रै बजेट छुट्याउनु पर्ने र यसो गर्दा कसैलाई अन्याय नहुने उनको भनाइ छ ।
त्यस्तै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी महिला बालबालिका मन्त्रालयलाई डम्पिङसाइटको रुपमा राखिएको तर्क गरिन् । जेष्ठ नागरिक, महिला एंवम् बालबालिकाको संवेदनशिल विषयमा काम गर्ने मन्त्रालय भएको हुँदा बजेटमा विभेद गरिएको र आउँदा दिनमा त्यसो नगर्न सुझाव दिइन् । उनले प्रश्न गरिन्–‘के बजेट तालिम, गोष्ठि र सेमिनारका लागि मात्र बजेट छुट्याउने हो ? जनताको सेवाका लागि बजेट खोइ ?’
0 प्रतिकृया