अनलाइन सट्टेवाजी गरेकाे आरोपमा बल्छी ध्रुवे सहित आठ जना पक्राउ
एक्सन खबर
काठमाडाैं, ३२ जेठ । अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा ५ जना कलाकार र ३ जना युट्युवर पक्राउ परेका छन् । वानएक्स बेटमा पक्राउ परेका आठै जनालाई प्रहरीले सार्वजनिक गरेको हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा गोरखा घर भई बनस्थली बस्ने ३५ वर्षीय हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय 'म्याकुरी' पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन् ।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर 'जलन', मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन् । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूकाे गतिविधि निगरानी गरिरहेको थियो । उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको पाइएकाे छ । कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो ।
बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने सट्टेवाज एप मध्ये वानएक्स बेट मार्फत ठूलो रकमको सट्टेबाजी हुँदै आएको छ । सट्टेवाजी गर्नेहरुले क्रिप्टोकरेन्सीको समेत व्यापार गर्दै आएका छन् ।
0 प्रतिकृया