अस्पताल ताेडफाेड गर्नेलाई पक्राउ नगरेकाेमा गृहमन्त्रीकाे ध्यानाकर्षण
एक्सन खबर
काठमाडौ, २ असार । नेपाल मेडिकल कलेजमा भएकाे ताेडफाेड, चिकित्सक, नर्स प्रतिकाे दुर्व्यहारकाे घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेकाेमा उपप्रधान तथा गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएकाे छ ।
गत जेठ ३० गते अत्तरखेल जोरपाटी स्थित कलेजमा उपचारको क्रममा बिरामीका आफन्तहरूले अस्पतालमा तोडफोड गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरी अभद्र व्यवहार गरेको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भनेटेर ध्यानाकर्षण गराएको हाे ।
चिकित्सक संघका प्रतिनिधिहरु सहित कलेजका अस्पताल निर्देशकले मन्त्री श्रेष्ठसँग स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको मनोबललाई नै निरुत्साहित पार्ने कार्यमा संलग्न दोषीमाथि छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरेकाे हाे ।
टाेलीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानुनी कारबाही गर्ने वातावरण सुनिश्चित गर्न एवं देशभरका सुरक्षा निकाय, न्यायिक एवं अर्धन्यायिक निकायहरूमा समेत उक्त ऐन बमोजिम आवश्यक कानुनी प्रावधान अवलम्बन गर्नका लागि विशेष सर्कुलर जारी गर्न आग्रह गरेको छ ।
संघका अनुसार २०८० सालको सुरुवातसँगै जस्तै नारायणी अस्पताल वीरगन्ज, सिन्धुली अस्पताल, सिराहा अस्पताल लगायतका देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका कैयौँ घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले असुरक्षित महसुस गरेको विद्यमान अवस्था छ ।
‘उपचाररत बिरामीको गम्भीरयतालाई नबुझी अस्वाभाविक रूपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्याई बिरामीहरूको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ संघले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।
याे पनि
कानुनको धज्जी उडाउँदै अस्पतालमा तोडफोड, चिकित्सकलाई ज्यान मार्ने धम्की
जेठ २७ गते पित्तथैलीमा पत्थरी भई उपचारका लागि भर्ना भएका गोकर्णेश्वर नगरपालिका माकलबारीका ७१ वर्षीय सुवर्ण कुमार धितालका आफन्तले जेठ ३० गते मंगलबार अपरान्ह ५ बजेतिर अस्पतालमा कार्यरत चिकित्सक तथा सुरक्षाकर्मीलाई समेत आक्रमण गरी अस्पताल तोडफोड गरेका थिए ।
सो क्रममा उनीहरुले एक सुरक्षाकर्मीलाई घाइते बनाएका थिए भने,, इमरजेन्सी, आइसियू र अपरेशन थिएटरमा कार्यरत चिकित्सकहरुलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए । अस्पताल प्रशासनले बिरामीको आफन्तहरुलाई उपचारमा चित्त नबुझे कानुनी उपचारमा जान सल्लाह दिएपनि ‘हामी कानुन मान्दैनाैं’ भन्दै बिरामीका आफन्तहरूले अस्पतालमा ताेडफाेड र डाक्टर, नर्सहरूमाथि अभद्र व्यवहार गर्दै ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।
घटनामा अस्पतालले प्रहरी समक्ष कटानी जाहेरी दिएपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेकाे छैन । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले समेत प्रहरीलाई घटनामा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएतापनि प्रहरीले चासाे नदिएपछि अस्पतालकाे इमरजेन्सी सेवा वाहेक सबै सेवाहरू बन्द रहेका छन् ।
५ दिन यता अस्पतालका सेवाहरू ठप्प हुँदा बिरामीहरूले सास्ती पाइरहेका छन् । चिकित्सकहरूले शान्तिपूर्ण वातावरणमा काम गर्न नपाए, घटनामा संलग्नलाई कारवाहीकाे दायरामा नल्याएसम्म काममा नफर्कने भनेका छन् ।
0 प्रतिकृया