Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


बाढीले ताप्लेजुङमा तीन घर बगायो, पाँचथरमा पुल

एक्सन खबर
असार, ३, २०८०


बाढीले ताप्लेजुङमा तीन घर बगायो, पाँचथरमा पुल

ताप्लेजुङ, ३ असार । पूर्वीपहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा अबिरल वर्षासँगै आएकाे बाढीले ठूलाे क्षती पुगेकाे छ । 

बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । अबिरल वर्षासँगै शनिबार राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ । स्थानीयका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् ।

बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ । केही पशुचौपायासमेत बगाएको स्थानीयकाे भनाइ छ ।

मैवाखोलामा आएको बाढीले दोभानबजार पनि जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् ।

मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ । मैवाखोला-२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको छ ।

जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार सरेर बसेका छन् ।

यता अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीमा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् ।

फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता छन् । तामाङ र लाेवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जानकारी दिए ।















0 प्रतिकृया