Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


चलाउनेमाथि आक्रमणहरूकाे मुद्दा फिर्ता लिनु निन्दनीयः पूर्वउपकुलपतिहरू

एक्सन खबर
असार, ६, २०८०


चलाउनेमाथि आक्रमणहरूकाे मुद्दा फिर्ता लिनु निन्दनीयः पूर्वउपकुलपतिहरू

काठमाडौं, ६ असार । पूर्वउपकुलपतिहरूले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुको मुद्दा फिर्ता लिने सरकारी निर्णयको विरोध गरेका छन् ।

पूर्वउपकुलपतिहरू अर्जुन कार्की, केदारभक्त माथेमासहित ८ जना उपकुलपतिले संयुक्त विज्ञप्ति जारी गर्दै उपप्राध्यापक चलाउनेमाथि ज्यान मार्ने गरीकाे आक्रमणमा संलग्नहरूकाे मुद्दा फिर्ता लिने सरकारको निर्णय निन्दनीय भएको बताएका हुन् ।

‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं अपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रीपरिषदको उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाति भएको देखिन्छ ।’ उनीहरुले भनेका छन् ।

उपप्राध्यापक चलाउनेले सोमबारदेखि थालेको अनसनप्रति ऐक्यवद्धता जनाउँदै पूर्वउपकुलपतिहरूले मुद्दा फिर्ता लिने निर्णय तुरुन्त फिर्ता लिन सरकार समक्ष माग गरेका छन् ।

यस्तै, त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह गरेको छ । सचिव सिद्धान्त भट्टले बुधबार विज्ञप्ति जारी गरी मुद्दा फिर्ताको घटनाले गम्भीर किसिमको अपराधमा समेत सरकार संरक्षक बन्न खोजेको पुष्टि गरेको भन्दै यसले प्राज्ञिक मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय फिर्ता लिई अदालतबाट हुने फैसला प्रभावित नगर्न त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरिएको छ ।

२०७७ सालमा समाजशास्त्र विभागका उपप्राध्यायक प्रेम चलाउनेमाथि त्रिवि केन्द्रीय क्याम्पस परिसरमा नै आक्रमण भएको थियो । सो आक्रमणमा संलग्नको आरोपमा नेपाल विद्यार्थी संघका तत्कालिन त्रिवि कमिटीका अध्यक्ष हरि आचार्य, महासचिव योगेन्द्र रावलविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानसम्बन्धी मुद्दा चलिरहेको छ । तर हालै सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।













0 प्रतिकृया