घट्याे हवाई भाडादर, कहाँ कति ?
एक्सन खबर
काठमाडाैं, ७ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन् । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई भाडादर घटाउन निर्देशन दिएको थियाे ।
बुधबारदेखि लागू हुने गरी भाडादर घटाइएकाे छ । अब काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ । यसअघि ४ हजार आठ सय पाँच रूपैयाँ रहेको यो गन्तव्यका लागि अब ४ हजार ५०५ रूपैयाँ तोकिएको छ ।
नयाँ भाडादर अनुसार काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ रहेको जनाइएकाे छ ।
काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ । काठमाडौं–नेपालगञ्जको भाडादर चार हजार ८९० रूपैयाँ, काठमाडौं–धनगढीको ६ हजार ६२५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७६५ रूपैयाँ कायम गरिएकाे छ ।
काठमाडौं–सिमराको एक हजार ३५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर एक हजार ६६५ रूपैयाँ तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।
0 प्रतिकृया