नेपाल इन्जिनियरिङ कलेजमा सेनिटरी प्याड भेंडिङ मेसिन स्थापना
एक्सन खबर
काठमाडाैं, ७ असार । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मुनाफारहित शैक्षिक संस्थाको रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) को बि-ब्लक भवनमा महिला शिक्षक तथा छात्राहरूलाई अत्यावश्यक महिनावारी व्यवस्थापन सामग्री सेनिटरी प्याड भेंडिङ मेसिन स्थापना गरिएको छ ।
भर्ना वर्ष २०१७ का कलेजको इलेक्ट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमका विद्यार्थीहरू राजु श्रेष्ठ, सरोज चौधरी र अनिल तिरुवाले आफ्नो अन्तिम वर्षको प्रोजेक्टको रूपमा दुई वर्ष अगाडि नै यस्तो मेसिन कलेजमा स्थापना गर्ने परिकल्पना गरेको भएता पनि कोभिड-१९ लगायतका विविध कारणले पुरा गर्न सकेका थिएनन् ।
सिनियर विद्यार्थीहरूले शुरु गरेको कामलाई कलेजमा सकृय विद्यार्थीहरूका क्लब मध्ये दुईवटा क्लबहरू कार्ड र सिटिआरसिले सहकार्य गरी कलेजबाट वित्तीय सहयोग स्वरुप प्राप्त पचास हजार रूपैंया प्रयोग गरी उक्त मेसिन बनाउन सफल भएका हुन् ।
कार्डले व्यवस्थापन पक्ष सम्हालेका थिए भने सिटिआरसिले प्राविधिक पक्षको जिम्मेवारी लिई उक्त मेसिन बनाउन सफल भएको सिटिआरसिका अध्यक्ष विप्लव पनेरू र कोषाध्यक्ष पदम उप्रेतीले जानकारी दिए । भर्ना वर्ष २०१७ का केही विद्यार्थीहरूले आफ्नै कम्पनी खोली सेनिटरी प्याड भेंडिङ मेसिनको व्यवसायीक उत्पादन समेत गरिसकेको विद्यार्थीहरूले बताए ।
कलेजमा सेनिटरी प्याड भेंडिङ मेसिन स्थापनाको उद्घाटन कलेजका प्राध्यापक सावित्री त्रिपाठी र प्रशासन प्रमुख श्रीमा शर्माले संयुक्तरूपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्राध्यापक त्रिपाठीले विद्यार्थीहरूलाई आवश्यक सामग्री विद्यार्थीहरूबाट नै निर्माण भएको र यस प्रकारका कामबाट विद्यार्थीहरुमा नवीन सोचको विकास भएकोमा खुसि व्यक्त गरिन् । कलेजबाट प्राप्त वित्तीय सहयोगलाई विद्यार्थीहरूले पूर्ण सदुपयोग गरेकोमा कलेज प्रशासन प्रमुख श्रीमा शर्माले सम्बन्धित विद्यार्थीहरूलाई धन्यवाद दिइन् ।
उद्घाटन कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ सहायक प्राचार्य एशाेसिएट प्राेफेसर दुर्गा प्रसाद भण्डारी सहित विभिन्न शैक्षिक विभागका प्रमुखहरूको साथै कार्ड र सिटिआरसिका सदस्यहरूको उपस्थिति थियो ।
कलेजको एउटा भवनबाट शुरू गरिएको भएतापनि अन्य भवनहरूमा पनि यस प्रकारको मेसिन जडान हुनुपर्ने कलेजको आर्किटेक्चर विभागका सहप्राध्यापक आर्किटेक्ट योजना तुलाधरले बताइन् ।
विगतमा कोभिड-१९ को महामारीको बिचमा नेपाल इन्जिनियरिङ कलेजको वित्तीय सहयोगमा शिक्षक तथा विद्यार्थीहरूले खाना तथा औषधिहरू विरामीलाई पुर्याउने स्वचालित मेसिन बनाई सरकारी अस्पताललाई निःशुल्क उपलव्ध गराएका थिए ।
वार्षिक लगभग १७ करोड भन्दा बढि रकम छात्रवृत्ति तथा नगद पुरस्कारमा खर्च गर्ने यस नेपाल इन्जिनियरिङ कलेजले विभिन्न समयमा यसरीनै समाज कल्याणमा देशलाई योगदान दिइरहेको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
0 प्रतिकृया