Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


वेस्ट इन्डिजसँग हारेपनि नेपालकाे आईसीसी विश्वकप छनोटमा पुग्ने संभावना कायमै

एक्सन खबर
असार, ८, २०८०


वेस्ट इन्डिजसँग हारेपनि नेपालकाे आईसीसी विश्वकप छनोटमा पुग्ने संभावना कायमै

काठमाडाैं, ७ असार । चार पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग १०१ रनले पराजित भए पनि नेपालले आईसीसी विश्वकप छनोटकाे सुपर सिक्समा पुग्ने संभावनालाई कायमै राखेकाे छ । दाेश्राे खेलमा अमेरिकालाई पराजित गरेपछि नेपालकाे सुपर सिक्समा पुग्ने संभावना कायमै रहेकाे हाे ।

बिहीबार विश्वकप विजेता राष्ट्रसँग पनि नेपालकाे खेल संयमित र सुधारिएकाे थियाे । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्डससँग खेल्नेछ। सो खेलमा नेपालले जित दर्ता गरे सुपर सिक्समा पुग्ने प्रवल सम्भावना छ ।

वेष्ट इन्डिजले दिएको ३ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरकाे २ बल बाँकी रहँदा २ सय ३८ रन बनाएर अलआउट भयो । खेलमा वेस्ट इन्डिजका कप्तान साइ होप र निकाेलस पुरनकाे क्याच समाउन नसक्दा नेपाल पराजय उन्मुख भएकाे हाे । यदी यी दुइकाे क्याच विकेट किपरले समाएकाे भए खेलकाे स्वरूप नै चेन्ज हुन्थ्याे ।

खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । ९३ बलको सामना गरेका शेखले ४ चौका र १ छक्का प्रहार गरे । अर्का ब्याटस्म्यान गुलसन झाले ४२ र रोहित पौडेलले ३० बनाउँदा आशिफ शेखले २८ रन बनाए । दिपेन्द्र सिंह ऐरीले २३, करण केसी २८ रन बनाए । ललित राजवंशी शून्य रनमा नटआउट रहे । सन्दीप लामिछानेले १ तथा कुशल मल्लले २ रन बनाए ।

त्यसअघि नेपालले दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई ५ रनमा गुमाउँदा पाँचौं ओभरमा भिम सार्कीलाई गुमायो । ७ बलमा २ रन बनाएका भिम जेसन होल्डरको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।

त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३९ रनको विशाल योगफल तयार पारेको थियो ।

खेलमा कप्तान होप र पुरनले दोहोरो शतकिय साझेदारी गरे । वेष्ट इन्डिजका लागि होप र पुरनले २८ ओभर ३ बलमा २ सय १६ रनको साझेदारी गरे । पुरनले १ सय १५ बलमा १० चौका र ४ छक्का मद्दतमा १ सय १५ रन बनाए । पुरनलाई दिपेन्द्र सिंह ऐरिले ४४ औं ओभरको अन्तिम बलमा क्लिन एण्ड बोल्ड गरे ।

कप्तान होप १२९ बलमा १० चौका र ३ छक्का हान्दै १ सय ३२ रनमा भिम सार्कीको हातबाट क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमा करण केसीले काइल मेयर्सलाई क्याच आउट गराए । चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चार्ल्सलाई १ रनमा आउट गराए ।

सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ४२ बलमा २ चौका र २ छक्का हान्दै ३२ रन बनाएका ब्रान्डोन किङलाई बोल्ड आउट गर्दा रोभम्यान पावेल २९ रनमा ललित राजवंशीको बलमा गुलसन झाको हातबाट क्याच आउट भए । किमो पल १ ललित राजवंशीको बलमा बोल्ड आउट भए ।

ललित राजवंशीले १० ओभरमा मात्र ५२ रन दिएर तिन विकेट लिए ।गुलसन झाले ८ ओभरमा ६४ रन दिएर १ विकेट लिए । सन्दीप लामिछानेले आफ्नो स्पेलमा १ मेडन राख्दै ५० रन दिएर १ विकेट लिए । करण केसीले १० ओभरमा १ मेडन राख्दै ८१ रन दिएर १ विकेट लिए । आरिफ शेखले ४ ओभरमा ३३ र कुशल मल्लले १ ओभरमा ८ रन, दिपेन्द्र सिंह ऐरीले ७ ओभरमा ४५ रन दिएर १ विकेट लिए ।

पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित नेपालले दाेश्राे खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिका समूह ए बाट लगातार तीन हारको साथ बाहिरिएको अवस्थामा अब नेपालले सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्सलाई हराएर मात्र हुँदैन नेदरल्यान्ड्स अन्तिम खेलमा वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ ।















0 प्रतिकृया