काभ्रेको मण्डनदेउपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ८ असार । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेपलाञ्चोकको मण्डन देउपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले मण्डन देउपुरको चण्डेनी रेडक्रस उपशाखासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
उक्त स्वास्थ्य शिविरमा ४६५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये १०४ जनाको भिडियो एक्सरे गरिएको छ भने, १७ जनाको दाँत खोलिएको र ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
उक्त स्वास्थ्य शिविरमा मेडिसिन, स्त्री रोग, नाक कान घाँटी, दन्त रोग तथा भिडियो एक्सरे सेवाहरु दिइएको थियो । जनरल मेजेनर दाहालका अनुसार स्वास्थ्य शिविरबाट उपचारका लागि ओ.टी. रेफर गरिएकाहरु केएमसीमा उपचारका लागि आए विभिन्न छुटहरु दिने गरिन्छ । ‘सर्वसाधारणलाई स्वास्थ्यमा पहुँच पुर्याउने प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माको उद्देश्यलाई साकार पार्नकालागि केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आइएको छ ।’ जनरल मेनेजर दाहालले भने ।
केएमसीका प्रमुख कार्यकारी अधिकृत डा.केपी शर्मा न्यौपानेले निःशुल्क स्वास्थ्य शिविरले गरिब विपन्न तथा सर्वसाधारण नागरिक बढी लाभान्वित भइरहेको जनाउँदै निरन्तर चलिरहने बताए ।
0 प्रतिकृया