चाँगुनारायण नगरपालिकाले सार्वजनिक गर्याे १ अर्ब ७१ करोड बढीकाे बजेट
एक्सन खबर
काठमाडाैं, ८ असार । भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ७१ करोड ६ लाख १ हजार बराबरको बजेट सार्वजनिक गरेकाे छ । नगर उपप्रमुख रमेश बुढाथाेकीले बजेट सार्वजनिक गर्दै चालु खर्च तर्फ ८१ करोेड ७३ लाख ५६ हजार र पुँजीगत खर्चतर्फ ८९ करोड ३२ लाख ४५ हजार बजेट छुट्याइएको जानकारी दिए ।
१३ औं नगर अधिवेशनको पहिलो दिन नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरिएको हाे । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनीक गर्दै भौतिक पूर्वाधार, सडक पूर्वाधार तथा यातायात, खानेपानी तथा सरसफाई, विद्युत तथा वैकल्पिक ऊर्जा, भवन तथा बस्ती विकासका लागि प्राथमिकताका साथ बजेट विनियाेजन गरिएकाे जनाए ।
त्यस्तै नगरले कृषि तथा पशुपंक्षी विकास, सहकारी, गरिबी न्यूनीकरण तथा उद्यमशीलताको विकास, उद्योग वाणिज्य तथा बजार ब्यवस्थापन, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्यमा बजेट विनियाेजन गरेकाे छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, सामुदायिक एवं गैरसकारी संघ संस्था परिचालन, सामाजिक सुरक्षा एवं पञ्जीकरण, श्रम र क्षमिक, वन, वातावरण, फोहोरमैला ब्यवस्थापन, पूर्ण सरसफाई तथा विपद् ब्यवस्थापन, सुसाशन, संस्थागत क्षमता विकास तथा सार्वजनीक सेवा प्रवाह, वित्तिय ब्यवस्थापन र सूचना तथा सञ्चारलगायत १९० बुँदामा बजेट तर्जुमा गरिएकाे छ ।
सार्वजनिक नीति तथा कार्यक्रममाथि छलफल गरि शुक्रबारै नगरसभाले सर्वसम्मत पारित समेत गरेको छ । सार्वजनिक बजेट अनुसार नगरस्तरीय गौरवको आयोजनाका लागि ४ करोड, युवाहरुका लागि लक्षित गरि खेलकुद पूर्वाधार विकास गर्न ५ करोड, स्थानीय सरकारलाई नजिकको सरकारको रुपमा नगारिकको आभास दिलाउन विपन्न सहयोग कार्यक्रम अन्तर्गत २० लाख, आ-आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न १, ३, ५, ७ र ९ नम्बर वडा कार्यालयहरुका लागि आन्तरिक तथा भौतिक पूर्वाधार ब्यवस्थापन गर्न २ करोड २० लाख रकम विनियोजना गरिएको जनाइएकाे छ ।
बेरोजगार युवाहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको मेयर उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन १ करोड बजेट विनियाेजन गरिएकाे छ । नागरिकहरुमा स्वास्थ्य सेवा प्रभावकारी गर्न विपन्न तथा ज्येष्ठ नागरिकहरुका परिवारका लागि निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिन १ कराेड, चाँगुनारायण नगरपालिकामा रहेको अक्सिजन प्लान्ट मार्फत अक्सिजन उत्पादन गरी चाँगुनारयण बासीहरुलाई निःशुल्क वितरणको लागि २० लाख विनियाेजन गरिएकाे छ ।
नगरकाे खानेपानीको ब्यवस्थापनमा ६ करोड ५३ लाख, यातायात पूर्वाधारमा ५० करोड ४५ लाख, विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर लगायत नगर क्षेत्रभित्रका मठमन्दिर एवं सम्पदा संरक्षणका लागि ६ करोड १७ लाख ५० हजार विनियोजन गरिएको उपमेयर बुढाथाेकीले बताए ।
बालबालिकाहरुको शिक्षामा गुणस्तरीयता कायम गर्दै बालिका तथा किशोरीहरुको विविध आयाममा सकारात्मक परिवर्तनका साथ सुरक्षीत भविष्यको सुनिश्चितताका लागि बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमलाई ३५ लाख, कृषिमा आधारित रोजगार प्रवर्द्धन गरी कृषि पेशालाई सम्मानजनक, आधुनिकीकरण एवं ब्यवसायीकीकरणका लागि ९२ लाख ५० हजार, पशु विकासका लागि पशु स्वास्थ्य आहार, नश्ल सुधार, सामुदायिक सेवा कार्यक्रम, फर्म तथा ब्यवसाय सुदृढीकरण लगायतका लागि ९७ लाख विनियाेजन गरिएकाे छ ।
त्यस्तै, विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्दै बाँध निर्माण, आगलागी, बाढी, पहिरोलगायत आकस्मिक रुपमा आइपर्ने दैवी प्रकाेप र प्राकृतिक प्रकाेप नियन्त्रण र ब्यवस्थापनका लागि विपद् ब्यवस्थापन कोषमा ३ करोड विनियोजन गरिएको छ ।
त्यस्तै, नगरसभाले विभिन्न ऐन कानुन समेत पारित गरेको छ । बजेट अधिवेशनको छलफलको लागि अर्को बैठक आइतबार दिउँसो २ बजे बस्ने बताइएकाे छ ।
0 प्रतिकृया