Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


निर्वाचनमा अन्तर्घात गर्ने पाँच जना केन्द्रीय सदस्य जसपाबाट निकाशित

एक्सन खबर
असार, १०, २०८०


निर्वाचनमा अन्तर्घात गर्ने पाँच जना केन्द्रीय सदस्य जसपाबाट निकाशित

काठमाडौं, १० असार । निर्वाचनमा अन्तर्घात गर्ने पाँच जना केन्द्रीय सदस्य जनता समाजवादी पार्टी (जसपा)बाट निष्काशित भएका छन् । जसपा नेपालको शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हाे ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वि.सं. २०७९ मंसिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरिएकाे छ ।

छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पाँच जनालाई पार्टीबाट निष्काशन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने समेत निर्णय भएको छ । कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने जनाइएकाे छ ।

बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ । सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोहजस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयलाई समेत आजको बैठकले अनुमोदन गरेको जनाइएको छ ।

आइतबारको बैठकमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जना सहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ ।













0 प्रतिकृया