साफ च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरियाे नेपाल
एक्सन खबर
काठमाडाैं, ९ असार । नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा भारतसँग २-० ले पराजित भएसँगै नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।
प्रतियाेगितामा भारतीय कप्तान सुनील क्षेत्रीले ६२औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेट नबित्दै महेश नोरेमले गरेको गोलसँगै भारतले अग्रता दोब्बर पारेको थियो । पहिलाे हाफमा नेपाल र भारतले बराबरी खेलेका थिए ।
दुई वर्षअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलमा पुगेको नेपाल यसपाली समूह चरणको एक खेल बाँकी रहँदै बाहिरियाे । गत संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँगै ३-० ले पराजित भएको थियो ।
जारी प्रतियोगितामा समूह ‘ए’मा परेको नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलको नतिजामा पराजित भएको थियो । लगातार दुई खेलमा पराजित नेपाललेअब पाकिस्तानसँग खेल्न बाँकी छ ।
नेपाल यसअघि २०१५ मा भारतकै केरलामा भएको संस्करणमा पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह एमा श्रीलंका र भारतसँग पराजित नेपाल जितविहीन रहेको थियो ।
जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानसँग अन्तिम खेल खेल्ने छ । यो संस्करणमा दुई आमन्त्रित टिमहरू कुवेत र लेबनानलाई समावेश गरिएको छ ।
0 प्रतिकृया