आईसीसी विश्वकपः निर्णायक खेलमा निरिह नेपाल सुपर सिक्समा पुग्न असफल
एक्सन खबर
काठमाडौं, ९ असार । निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध १६७ रनमै अलआउट हुँदै नेपाल आईसीसी एक दिवसीय विश्वकपकाे सुपर सिक्समा पुग्न असफल भएकाे छ । खेल नेदरल्याण्डले ७ विकेटले जित्याे ।
यसअघि नेपाल वेस्ट इन्डिजसँग १०१ रन तथा जिम्बाबेसँग ८ विकेटले पराजित हुँदा अमेरिकालाई ६ विकेटले पराजित गरेकाे थियाे ।
जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल ४४ दशमलव ३ ओभरमा १ सय ६७ रनमा समेटियाे । खराब ब्याटिङबाट गुज्रिएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रनको योगदान गर्दा अन्य ब्याटस्म्यानहरू सस्तैमा समेटिए ।
सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७, भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६ रनमा आउट हुँदा करण केसी एक रन र आसिफ शेख शून्यमा पेभिलियन फर्किए ।
नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्ड्सका भान बिकले सर्वाधिक ४, डि लिड र विक्रमजित सिंहले समान २ तथा क्लेटन फ्लोएडले एक विकेट लिए । १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएकाे नेदरल्याण्डले २७.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
ब्याटिङमा नेदरल्याण्डका डाउड र विक्रमजितले १३ ओभर खेल्दै पहिलो विकेटमा ८६ रन जोडे । विक्रमजित (३०) र वेस्ली बारेसी (३) लाई सन्दीप लामिछानेले आउट गरे । प्लेयर अफ द म्याच डाउडले ७५ बल खेल्दै ८ चौका र ४ छक्कासहित ९० रन बनाए । लिडले ३९ बलमा ६ चौका प्रहार गर्दै ४१ रन बनाए ।
नेपालले अब समूह ‘बी’ बाट बाहिरिएको टोलीसँग प्लेअफ खेल्नेछ । अमेरिकाले सोमबार जिम्बावेसँग समूह चरणको अन्तिम खेल खेल्नेछ र त्यसपछि प्लेअफमा खेल्नेछ ।समूह ‘ए’ बाट जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् ।
0 प्रतिकृया