दिनेश चौधरीको स्मृतिमा फरवार्डद्वारा बृक्षरोपण (फाेटाे फिचर सहित)
एक्सन खबर
सुनसरी, १२ असार । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रवर्द्धक संस्था ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) का संस्थापक स्वर्गीय दिनेशकुमार चौधरीको १६ औं स्मृति दिवसका अवसरमा फरवार्ड माइक्रोफाइनान्सले बृक्षरोपण गरेको छ ।
फरवार्डको केन्द्रीय कार्यालय सुनसरीको दुहवीसँगै १६० शाखाहरुले स्थानीय प्रहरी प्रशासन कार्यालय, वडा कार्यालय लगायतका स्थानमा बृक्षरोपण गरेको हो । केन्द्रीय कार्यालयमा भएको बृक्षरोपण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य समेत रहेकी स्वर्गीय चौधरीकी धर्मपत्नी भगबती चौधरीको सहभागीता रहेको थियो ।
बृक्षरोपणमा फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत कृष्ण भट्टराई, कर्जा विभाग प्रमुख हिराकुमारी थन्दार, मञ्चकी कार्यवाहक अध्यक्ष राजकुमारी चाैधरीलगायत स्थानीय प्रहरी प्रशासनको समेत सहभागीता रहेको थियो ।
ग्रामिण महिला सशक्तिकरणका अगुवा, कुशल प्रशिक्षक समेत रहेका दिनेशकुमार चौधरीको वार्षिक पुण्य तिथीमा फरवार्डले आफ्ना देशभरका सबै शाखा कार्यालयमार्फत बृक्षरोपण गरेको हो । २०६४ साल असार १२ गते काठमाडौंमा पिताको उपचार गरेर एम्बुलेन्समा दाङ घर फर्कने क्रममा अनियन्त्रित रुपमा आएको ट्रकको ठक्करबाट दुर्घटनामा उनीसँगै उनको पिताको समेत निधन भएको थियो ।
चौधरीको सम्झना गर्दै माइक्रोफाइनान्सका १६० वटा शाखा मार्फत १ हजार ९ सय २० बृक्षहरु रोपिएको संस्थाका सामान्य प्रशासन प्रमुख विनोदकुमार चौधरीले जानकारी दिए । माइक्रोफाइनान्सले स्वर्गीय चौधरीको स्मृति दिवसका अवसरमा हरेक वर्ष बृक्षरोपण गर्ने गरेको छ । पुन्य तिथीमा आँप, लिच्ची, सुपारी, नरिवल लगायतका बृक्षरोपण गरिएका थिए ।
२०२० साल बैशाख २ गते पश्चिम नेपालको दाङमा जन्मिएका स्वर्गीय चौधरीले सुनसरीकी भगबती चौधरीसँग बैवाहिक जीवनयात्रा थालनी गरेसँगै सुनसरीलाई नै कर्मभूमी बनाएका थिए । तराई मधेशमा व्याप्त गरिबी, कूसंस्कार, अशिक्षा र विभेदका विरुद्ध सामाजिक, सांस्कृतिक सचेतनाहरु फैलाउँदै समाज परिवर्तनको अभियानमा सक्रिय स्वर्गीय चौधरीले ग्रामिण अर्थतन्त्र, ग्रामिण महिला सशक्तिकरण र सामुदायिक वातावरण र स्वास्थ्य सुधारका क्षेत्रमा काम गर्दथे ।
२०५१ सालमा ग्रामिण महिला उत्सुकता विकास मञ्च नामक गैरसरकारी संस्था स्थापना गरी सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका जिल्लाहरुमा कार्यक्रम चलाउँदै समुन्नत राष्ट्र निर्माणको अभियानमा लागेका चौधरी थारु समुदायको हक अधिकार, कला संस्कृति र परम्पराको संरक्षणमा समेत सक्रिय थिए ।
समाजमा विद्यमान विभेद र कूसंस्कारहरुलाई समय सापेक्ष परिवर्तन गरी शिक्षित र सूसंस्कृत समाज निर्माण गर्नुपर्छ भन्ने मान्यता अनुसार संस्था स्थापना गरेका चौधरीले महिलाहरुलाई घर र चुल्हो चौकामा मात्र सिमित राख्नु हुँदैन भन्ने मान्यता राखेर आफुलाई सामाजिक काम र राजनीतिमा अगाडी बढाएको धर्मपत्नी चौधरी बताउँछिन् । ‘दिनेशजी आँखामा पनि नबिझाउने हुनुहुन्थ्यो । महिलाहरु अगाडी बढ्नुपर्छ, चुल्होचौका र घुम्टोभित्र मात्र बस्नुहुन्न भन्नुहुन्थ्यो ।’ समाजसेवा र राजनीतिमा लाग्न श्रीमानले हौसला नदिएको भए अहिलेको अवस्थामा आफु आउन नसक्ने उनको भनाई छ ।
स्वर्गीय चौधरीले कानुनमा स्नातकसम्मको अध्ययन गरेका थिए । विद्यार्थी कालदेखि नै सामाजिक भावनाले ओतप्रोत चौधरीले छोटो समयमा समाज, राष्ट्र र समुदायप्रति गरेको काम अविश्वमरणीय छ । ग्रामिण भेगका महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन होस् वा थारु समुदायको आर्थिक, सांस्कृतिक तथा सामाजिक चेतनामा उनको योगदान अनुकरणीय रहेको समकक्षीहरुको भनाई छ ।
दिनेश चौधरीले सुनसरीको दुहवी आएर ग्रामिण महिला उत्सुकता मञ्च (फरवार्ड) स्थापना गर्दै तराई मधेशमा ब्याप्त सामाजिक, आर्थिक तथा लैङिक विभेद अन्त्य गर्न काम गरे । उनले दुहवीबाट सुरु गरेको आर्थिक अभियान अहिले उनकी धर्मपत्नी भगबती चौधरीको नेतृत्व र व्यवस्थापनमा देशव्यापी भएको छ ।
अहिले फरवार्ड नेपाल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड बचत तथा ऋण सहकारी संस्था, फरवार्ड इन्टरप्राइजेज, दिनेश चौधरी स्मृति प्रतिष्ठान, दिनेश चौधरी आधारभूत विद्यालय जस्ता बहुआयामिक संस्थाहरुले स्वर्गीय चौधरीको समाज सेवा र राष्ट्र सेवालाई जीवन्त बनाइरहेका छन् ।
0 प्रतिकृया