Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


ललिता निवास प्रकरणः मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा मुद्दा चलाइने

एक्सन खबर
असार, १३, २०८०


ललिता निवास प्रकरणः मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा मुद्दा चलाइने

काठमाडौं, १३ असार । बहुचर्चित ललिता निवास सरकारी जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम प्रत्यक्षरूपमा विभिन्न भूमिकामा संलग्न रहेकोले पक्राउ गरिएकाे नेपाल प्रहरीले जनाएकाे छ ।

बुधबार केन्द्रीय अनुसन्धान ब्यूराेले पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा हडपेर २०४९ सालमा व्यक्तिले जग्गा लिएको देखिएको बताएकाे छ । ‘सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा हडपेर व्यक्तिले जग्गा लिएको देखिएकोले बालुवाटारस्थित सरकारी जग्गा प्रकरणमा संलग्नलाई पक्राउ गरिएकाे हाे ।’ ब्यूराेका एसएसपी दिनेश आचार्यले भने ।

यस प्रकरणमा मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने पनि बताएको छ । मुलुकी ऐन २०२० मा सरकारी लिखत कीर्तेमा हद म्यादको व्यवस्था नभएको र त्यसअनुसार नै मुद्दा चलाउन लागिएको एआईजी किरण बज्राचार्यले जनाइन् ।

तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ साल पुसदेखि रोकिएको अनुसन्धान फाइल खाेल्दै प्रहरीले मंगलबार मात्रै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतलाई पक्राउ गरेको छ । यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेपाल विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यात लगायत विभिन्न नेता, कर्मचारी, व्यापारी, भू–माफिया र तत्कालीन भोगाधिकारी पनि मुछिएका छन् ।

नेपाल प्रहरीका अनुसार पूर्वनिर्वाचन आयुक्त समेत रहेका सुधीर शाहले भक्तपुर मालपोत कार्यालयमा अधिकृतका रूपमा काम गर्दा सुवर्ण शमशेर जबरा र काञ्चन शमशेर जबराका हकवालाहरू सुनीती राणा, रूक्म शमशेर ज.ब.रा, शैलजा राणा, हेमन शम्शेर ज.ब.रा, हाटक शमशेर ज.ब.राका नाममा अनधिकृत रूपमा जग्गा नामसारी गरी सोबापत श्रीमती उर्मिला शाहको नाममा ५ रोपनी २ पैसा २ दाम जग्गा प्राप्त गरेको देखिएको छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले सरकारी जग्गा फर्स्यौटमा बिचौलियाको भूमिका निर्वाह गरेको प्रहरीको दावी छ । अहिले गुरुङ र उनको परिवार तथा निजको शेयर रहेको भाटभटनी डेभलपमेन्ट कम्पनी प्रा.लि. समेतको नाममा २९-१५-३-१.४५ जग्गा कायम रहेको छ ।

कसलाई कस्ताे अभियोग ?

सुधीर शाह
तत्कालीन मालपोत कार्यालय भक्तपुरमा मालपोत अधिकृतको रुपमा कार्यरत रही सरकारी जग्गामा अनुमति सुवर्ण शमशेर ज.ब.रा. र काञ्चन शम्शेर ज.ब.रा.का हकवालाहरू श्रीमती सुनीती राणा, रक्म शमशेर ज.ब.रा. श्रीमती शैलजा राणा, श्री हेमन शम्शेर ज.ब.रा.र श्री हाटक शमशेर ज.ब.रा. हरुको नाममा अनाधिकृत रुपमा ना.सा. दा. खा. गरी गराई सो बापत सोही मध्येको जग्गा आफ्ना नातेदार श्रीमती उर्मिला शाहको नाममा हालै देखिको बकसपत्रको लिखत पारित गर्ने गराउने कार्य गरेको । हालै देखिको बकसबाट सुधिर शाहको श्रीमती उर्मिला शाहले प्राप्त गरेको जग्गा जम्मा क्षे.फ.५-०-२-२ जग्गा प्राप्त गरेको ।

मीनबहादुर गुरुङ
आफू र आफ्ना परिवार समेतका नाममा जग्गा ल्याई सरकारी जग्गा मस्यौट गर्ने कार्यमा बिचौलियाको भूमिका निर्वाह गरी प्रत्यक्ष लाभ समेत लिएको । हाल निज मिन बहादुर गुरुङ र निजको परिवार तथा निजको शेयर रहेको भाटभटनी डेभलपमेन्ट कम्पनी प्रा.लि. समेतको नाममा २९-१५-३-१.४५ जग्गा कायम रहेको ।

गोपाल कार्की
सरकारी जग्गा व्यक्तिको नाममा दाखिला खारेज गर्ने क्रममा मालपोत कार्यालय डिल्लीबजारबाट तयार पारिएको १०२४ र १०२५ नं को मिसिल गायब पारेको ।

धर्म प्रसाद गौतम

तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरेको समरजंग पक्राउ कम्पनीको नाममा रहेको ३४ कित्ता जग्गा मालपोत ऐन २०३४ को दफा ७ (३) बमोजिम संशोधन गरी २०४२।०३।१६ गुठीको नाममा दर्ता गरी पुनः सोही ऐन बमोजिम अधिकार प्रयोग गरी मि.नं. १०२४ र १०२५ का आधारमा जग्गाहरु व्यक्तिका नाममा फिर्ताको सहमति दिने निर्णय गरि मालपोत कार्यालय डिल्लीबजारलाई पत्र लेखी दिई सरकारी जग्गालाई रोक्का र जफत भनी भूमि सुधार तथा व्यवस्था मन्त्रालयको मिति २०४७/०६/०२ को पत्रानुसार मालपोत विभागको २०४७।०६।०७ को पत्र बमोजिम जग्गा फिर्ता दिने निर्देशन गरेको, उल्लेखित निर्देशन दिंदा बास्तविक तथ्यहरुको विष्लेषण नगरी नियमन गर्ने निकाय मालपोत विभागले नियमन नगरी २०२२।०२।२४ गतेबाटै सरकारी स्वामित्वमा रहेको जग्गगालाई २०४७ सालको मन्त्रिपरिषद्को निर्णयलाई अपब्याख्या, दुरुपयोग र विपरीत समेत हुने गरी सरकारले कानुनबमोजिम अधिग्रहण गरेको जग्गालाई जफत भनी फरक व्यहोरा पारी किर्ते पूर्ण कार्य गर्नमा आधिकारिक निर्देशनसहित पत्राचार गर्ने कार्यमा हस्ताक्षर गरी मालपोत कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको, प्रतिवादी शैलजा राणा समेतले दिएको निवेदनलाई आधार बनाई किर्ते पूर्ण कार्य गर्न निर्देशन दिई सरकारी जग्गा अनधिकृत व्यक्तिहरुलाई ना.सा. दा.खा गरी, गराई सोबापत आफ्ना सालीको छोरा नाता पर्ने मोह प्रसाद भट्टराई र प्रतिवादी शशिकला सुब्बाको संयुक्त नाममा क्षे.फ. १-३-०-० रोपनी जग्गा, श्रीमती खिमादेवी आङ्बुहाङ र मोहन प्रसाद भट्टराईको संयुक्त नाममा क्षे.फ. १-१४- २-० रोपनी गरी जम्मा ३-१-२-० रोपनी क्षेत्रफल जग्गा राणाहरुबाट हालै देखिको वकसपत्र मार्फतप्राप्त गरेको ।

सुवर्णशमशेरका नाममा रहेको ललिता निवासको जग्गा पञ्चायतकालमा अधिग्रहण भएकोमा बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४७ जेठ १४ मा मन्त्रिपरिषद्ले ‘२०१७ पछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएका संघर्षमा संलग्न भएकै कारण रोक्का भएको सम्पत्ति फुकुवा गर्ने’ भनी गरेको निर्णयलाई अपव्याख्या र सरकारी कागजात किर्ते गरेर २०४९ सालमा तत्कालीन भोगाधिकारीले जग्गा हडपेका थिए ।













0 प्रतिकृया