ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विषयले संसदकाे लामो समय लियो : प्रधानमन्त्री प्रचण्ड
एक्सन खबर
काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।
‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ । भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ,’ संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ।
यस्तै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् । आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने प्रधानमन्त्रीले बताए ।
मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्ययन गरिरहेको उनको भनाइ छ ।
‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन । त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थि वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ ।’ प्रधानमन्त्रीले राेष्टममा भने ।
यस्तै, १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको जानकारी गराउँदै उनले आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु. ३० अर्ब रकम विनियोजन गरिएको जनाए ।
’देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
0 प्रतिकृया