आयल निगमका खड्कालाई १५ महिना कैदसहित १८ करोडभन्दा बढी बिगो र जरिवाना
एक्सन खबर
काठमाडौं, १५ असार । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो ।
न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोक्दै १ वर्ष तीन महिना कैद सजाय सुनाएको हो ।
साथै इजलासले उनको नाममा भएको सबै सम्पत्ति र श्रीमतीको नाममा भएका दुईवटा जग्गा पनि जफत गर्न आदेश दिएको छ । गोपालसँगै उनकी श्रीमती शर्मिला खड्काका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ ।
१३ पुस २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा गैरकानूनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने फैसला भएकाे छ । अख्तियारले सिजी डेभलपर्स प्रा.लि.को सम्पत्ति पनि जफत हुने फैसला गरेकाे छ ।
a
0 प्रतिकृया