हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते
एक्सन खबर
मकवानपुर, १५ असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपुरमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरेका अनुसार चितवनको नारायणगढबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस नवलपुरमा दुर्घटना भएको हो ।
घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको छ । हेटौंडाकै चुरेहिल अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।
दुर्घटनामा घाइते भएका २१ जनाको चुरेहिल अस्पताल र ३० जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने अहिलेसम्म सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी घिमिरेले जानकारी दिए ।
0 प्रतिकृया