फ्रान्सको हिंसा पुग्याे बेल्जियम, फ्रान्सेली राष्ट्रपतिको जर्मन भ्रमण रद्द
एक्सन खबर
पेरिस, १७ असार । फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ । जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण रद्द गरेका छन् ।
उनले जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरेका हुन् । उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए । अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ । त्यहाँ भएका हिंसाहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भएपछि उनको ब्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको गैरजिम्मेवारपूर्ण व्यवहार भनेका छन् ।
सीएनएनका अनुसार बुधवार पेरिसमा एल्टनको कन्सर्ट थियो । म्याक्रोन त्यहाँ आफ्नी पत्नीसँग देखा परेका थिए । एल्टनका पतिले म्याक्रोनसँग स्टेज पछाडि खिचिएको फोटो पनि पोस्ट गरेपछि राष्ट्रपतिको ब्यापक आलोचना सुरू भएको हो ।
आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले प्रदर्शनकारीले हालसम्म देशभर २ हजारभन्दा बढी कार जलाएका छन् । प्रदर्शनमा दुई सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरूले सात सयभन्दा बढी पसल, सुपरमार्केट, रेष्टुरेन्ट र बैंकमा आगजनी र तोडफोड गरेका छन् ।
चौथो दिन प्रहरीले १३ सय आन्दोलनकारीलाई पक्राउ गरेको छ । न्याय मन्त्री एरिक डुपोन्ट मोरेट्टीले भने, ‘पक्राउ परेका मध्ये ३० प्रतिशत १८ वर्ष मुनिका छन् ।’
रोयटर्सका अनुसार स्थिति नियन्त्रण गर्न सडकमा ४५ हजार प्रहरीसहित सशस्त्र सवारीसाधन तैनाथ गरिएको छ । अल्जेरियन मुलका एक किशोरलाइ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर गोली चलाए पछि फ्रान्समा हिंसा फैलिएकोमा अझै जारी छ ।
0 प्रतिकृया