ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ
एक्सन खबर
काठमाडौं, १७ असार । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ब्यूराेले यसअघि चार जनालाई पक्राउ गरिसकेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की प्रहरी हिरासतमा छन् ।
प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेकोमा उनीहरूले पहिल्यै स्टे अर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाडेकाे थियाे ।
सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्श निकाल्दै सरकारी जग्गा कीर्ते कसुरमा अनुसन्धान गरिरहेको छ ।
अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम
यसैविच काठमाडौं महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले सात दिनको समय दिँदै सूचना टाँसेको बताए । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिइएको र अटेर गरे महानगर प्रहरीले हटाउने छ ।
ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदाम घर, पसल आदि सञ्चालनमा रहेका छन् ।
0 प्रतिकृया