Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


२७ दिनको नवजात शिशुको नोबेलमा जटिल शल्यक्रिया

एक्सन खबर
असार, १७, २०८०


२७ दिनको नवजात शिशुको नोबेलमा जटिल शल्यक्रिया

विराटनगर, १७ असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए ।

डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो ।

कोशी अस्पतालमा जन्मिएको बच्चालाई श्वास फेर्न गाह्रो भएपछि नोबेल ल्याइएको हो । नोबेलमा एक्सरे गरेर हेर्दा पेटभित्र हुने अंगहरू छातिमा पुगेको देखिएपछि बाल तथा नवजात शिशु सर्जन डा.शाह नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको पेट चिरेर शल्यक्रिया गरेको हो । अप्रेशनका क्रममा एनएस्थेसियोलोजिष्ट डा.बन्दना पौडेल लगायतले साथ दिएका थिए ।

बच्चाको छातीमा पुगेका अंगहरुलाई पेटमा ल्याई डायफ्रामको प्वाल टालिएको डा.शाहले बताए । ‘जन्मजात डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याई प्वाल टालेका छौँ, अहिले बच्चाको अवस्था ठिक छ,’ डा.शाहले भने, ‘यो निकै दुर्लभ र जटिल समस्या हो, करिब ५ हजार बच्चाहरू मध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ ।’

चिकित्सकहरूका अनुसार यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भई बच्चाको ज्यान जाने जोखिम हुन्छ । भर्खर जन्मिएको बच्चालाई आमाको दूध भन्दा अन्य कुरा खुवाउँदा समस्या हुने र बेहोस पार्दा होस खुल्न गाह्रो हुने जस्ता कारणले यस्तो शल्यक्रिया निकै जटिल मानिन्छ । यस्तो अप्रेसन गर्ने क्रममा झण्डै ४० प्रतिशत बच्चाहरूको ज्यान जाने भएकाले यो जटिल अप्रेसन मानिने चिकित्सकहरू बताउँछन् ।

अप्रेसन सफल भएर जोखिम टरेपछि बिरामीका आफन्त हर्षित छन् । जटिल अवस्थामा पुगेको छोरा निको भएको भन्दै आमा गिताले खुसी व्यक्त गरिन् । उनले पहिलो सन्तानका रुपमा सुरभलाई जन्म दिएकी हुन् । शिशुको स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।















0 प्रतिकृया