Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


कैलालीमा पालिका अध्यक्षले शाैचालयमा थुने शिक्षकलाई

एक्सन खबर
असार, १८, २०८०


कैलालीमा पालिका अध्यक्षले शाैचालयमा थुने शिक्षकलाई

काठमाडौं, १८ असार । विद्यालय शिक्षा प्रदान गर्ने थलो हो । शिक्षकले विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्छन् । तर, कैलालीको जोशीपुर गाउँपालिका-३ फाडियास्थित श्री सरस्वती मावि लक्कड-मनिकापुरमा भने प्रधानाध्यापक को बन्ने भन्ने विषयमा चरम विवाद भइरहेकोमा पालिका अध्यक्षले एक शिक्षकलाई शाैचालयमा थुनेका छन् ।

मोहनलाल कुस्मी केही समय पहिले सेवा निवृत्त भए । उनी नै विद्यालयका प्रअ थिए । सेवा निवृत्त भइसकेपछि उनले विद्यालयकै शिक्षक धनबहादुर चौधरीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिए । जुनियरले जिम्मेवारी पाएको भन्दै विद्यालयका शिक्षकहरूले नै असन्तुष्टि जनाए ।

उनीहरूले धनबहादुरको स्थानमा विश्वनाथ शाहले जिम्मेवारी पाउनु पर्ने बताउँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कैलाश डगौरा रहेका छन् । उनी पनि विद्यालयमा निमित्तको जिम्मेवारी दिँदा पुरानो प्रअले गल्ती गरेको बताउँछन् ।

'मोहनलाल जी आफू त जानु भयो तर विद्यालयमा विवाद सिर्जना गरेर जानु भयो । योग्यता, क्षमता र कार्यानुभवका आधारमा सिनियर शिक्षक विश्वनाथ जी हुनुहुन्छ । उहाँले निमित्त प्रअको जिम्मेवारी पाउनुपर्ने हो । तर, हामीहरूसँग समन्वय नभएरै मोहनलाल जीले धनबहादुरलाई जिम्मेवारी दिनु भयो । यो निर्णय विद्यालयमा कार्यरत अरू शिक्षकलाई पनि मन परेको छैन,' उनले भने । यसमा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले समेत अनावश्यक हस्तक्षेप गरेको डगौरा बताउँछन् ।

'उहाँले म विद्यालयको संरक्षक हो भन्दै धनबहादुरलाई नै प्रअ बनाउन दबाब दिइरहनु भएको छ । हिजोमात्र गाउँपालिका अध्यक्षले विश्वनाथ शाहलाई डकुमेन्टसहित बोलाउनु भएको थियो । डकुमेन्ट हेर्दै उहाँले डकुमेन्ट नै नक्कली भएको आरोप लगाउनु भयो । उहाँको मोबाइल खोस्नु भएछ र सर्टको कलर समात्नुभएछ । उहाँलाई केही समय ट्वाइलेट पनि थुन्नु भयो,' उनी भन्छन् । विद्यालयको एक इमानदार र कर्मठ शिक्षकलाई गाउँपालिकामा बोलाएर अध्यक्षले नै आपराधिक बल प्रयोग गरेको खबर सुनेर आफू निकै दुःखी भएको उनले भने ।

सादा पानामा हस्ताक्षर गरेर धनबहादुरका नाममा सहमति जनाउन गाउँपालिका अध्यक्ष चौधरीले शाहलाई दबाब दिएको बताइएको छ। आफूहरू शिक्षा ऐन अनुसार नै प्रअ नियुक्त हुनुपर्छ भन्नेमा प्रतिबद्ध रहेको व्यवस्थापन समिति अध्यक्ष डगौरा बताउँछन् ।

अध्यक्षको दबाबमा जोशीपुर शिक्षा शाखाले प्रअ बनाउने भन्दै धनबहादुरको नाम सिफारिस गरे पनि जिल्लाबाट उक्त निर्णय खारेज भएर आएको बताइएकाे छ ।

पीडित शिक्षक शाहले पनि आफूमाथि अन्याय भएको बताए । आफूमाथि भएको अन्यायमाथि थप नुनचुक छर्किने काम गाउँपालिका अध्यक्षले गरिरहेको उनको आरोप छ । 'मलाई गाउँपालिका अध्यक्षले एक्लै आफ्नो कार्यालयमा आउन भन्नुभयो । तर, पनि मैले विद्यालयको परिचरलाई लगेर गए । पालिकामा पुगेपछि परिचरलाई बाहिरै राखेर मलाई भित्र बोलाइयो । भित्र गइसकेपछि ढोका लक गरियो', उनले भने, 'मेरो सर्टिफिकेट डुब्लिकेट रहेको भन्दै प्रश्न उठाइयो ।' यस घटनाले आफूलाई निकै मर्माहत तुल्याएको उनले बताए ।

आफूलाई बढुवा कसरी भयौ भन्ने लगायत थुप्रै अनावश्यक प्रश्न सोधिएको उनले बताए। 'मलाई लेखेर सहमति दिन भन्दै दबाब दिइयो । मैले मेरो अधिकार अरूलाई किन खोस्न दिऊ ? भने । त्यसपछि मेरो मोबाइल खोसियो, मेरो सर्टको कलर समात्नु भयो । र केही समय अध्यक्षकै ट्वाइलेटमा थुनियो । त्यसपछि पनि सहमति दिन्छस् कि नाइँ भनेर पालिका अध्यक्षले धम्क्याए । मलाई पिट्छु भन्नेसम्मको धम्की दिए', उनी भन्छन् ।

१० कक्षासम्म पढाइ भइरहेको विद्यालयमा २६० जना विद्यार्थी छन् । यतिबेला प्रअ को बन्ने भन्ने विवादका कारण ती विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको स्थानीय कृष्णप्रसाद ओझा बताउँछन् । 'मेरो घर विद्यालयसँगै जोडिएको छ । पछिल्लो समय विद्यालयमा अनावश्यक राजनीति भइरहेको छ । विद्यालय भवन निर्माणमा पनि अनियमितता भएको सुनेका छौं । अहिले पनि जिम्मेवारी पाउनुपर्ने व्यक्तिलाई पाखा लगाएर अन्यलाई नै जिम्मेवारी दिइएकाे छ ।' उनले भने । विद्यालय राजनीति गर्ने ठाउँ नभएकाले त्यहाँ राजनीति नगर्न उनको सुझाव छ ।













0 प्रतिकृया