कांग्रेसद्धारा मन्दिर, मस्जिद, गुम्बा र चर्च सफाई
धरान, १८ असार । नेपाली कांग्रेसले मन्दिर, मस्जिद गुम्बा र चर्चमा सरसफाई गरेको छ । १०० औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए ।
उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान, २०७२ मा धर्मनिरपेक्ष राष्ट्र कायम गराइएको भन्दै त्यसको समेत सन्देश दिन र कांग्रेस सबै धर्मप्रति समान व्यवहार र सम्मान राख्दछ र सबैले सबैको धर्मप्रति सम्मान र समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन पवित्र धार्मिक स्थलहरुमा सरसफाई गरिएको बताए ।
नेपाली कांग्रेसले मन्दिर, मस्जिद, गुम्बा र चर्च जस्ता पवित्र धार्मिक स्थलहरुको सरसफाई गरेको कार्यले नेता र दलमा लागेको दागहरुलाई पनि सरसफाई गर्नुपर्छ भन्ने सन्देश गएको अनुग्रह चर्चका पाष्टर पर्शु गुरङले बताए ।
कांग्रेसले सम्मेलनको अवसरमा असार १९ गते ८ बजे धरान १३ मा रहेको अमरहाट स्थित व्याडमिन्टन हलमा व्याडमिन्ट प्रतियोगिता, असार २० गते २ बजे धरान १६ मा रहेको धरान रंगशालामा नेपाल पत्रकार महासंघ र पार्टी वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, असार २१ गते १ बजे बराहक्षेत्र ५ मा रहेको कालाबञ्जार हलमा रस्सी तान प्रतियोगिता र असार २२ गते धरान २ स्थित लोकतान्त्रिक चौक (भानुचौक) वाट ५ कि.मि. दौड प्रतियोगिताको आयोजना गर्ने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।
असार २९ र ३० गते कांग्रेसका प्रभावशाली यूवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान १३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने समेत क्षेत्रीय सचिव महेन्द्र प्रधानले बताएका छन् ।
0 प्रतिकृया