‘डाक्टर सावहरुले बचाउनु भयो अब रक्सी खान्न’
एक्सन खबर
काठमाडौं, १९ असार । नेपाल मेडिकल कलेजले लगातार मादकपदार्थ सेवनबाट गम्भिर एक व्यक्तिको सफल उपचार गरेको छ । वर्षौंदेखि अत्याधिक मादकपदार्थ सेवन गर्दै आएका शंखरापुर नगरपालिका वडा नं. ८ हुमारचौकका ५१ वर्षीय हिरो थिङ (तामाङ) को २ सातासम्म लगातारको उपचारपछि ज्यान बचाउन सफल भएको हो ।
छारे रोग, नशा सम्बन्धी रोग र ब्लड प्रेसरले मस्तिस्कमा समेत असर पुगेका उनलाई गत असार ४ गते नेपाल मेडिकल कलेजको इमरजेन्सीमा गम्भिर अवस्थामा ल्याइएको थियो । नसा सम्बन्धी रोग र छारे रोगले लडेर घाइते समेत भएका हिरो थिङको अवस्था गम्भिर देखेपछि चिकित्सकहरुले तत्कालै आइसियूमा राखेर उपचार सुरु गरेका थिए । ‘उहाँ लामो समयदेखि अल्कोहल सेवन गर्नुहुँदो रहेछ । बेलाबेला छारे रोगले भेट्ने रहेछ । यहाँ आउँदा उहाँको ब्रेनमा असर गरिसकेको र प्यारालाइसिसको समेत लक्षण देखिइसकेको थियो । हामीले तत्कालै आइसियूमा राखेर उपचार थाल्यौं ।’ बिरामी थिङको उपचारमा संलग्न कलेजका क्रिटिकल केयर युनिटका प्रमुख डा. सौरभ प्रधानले भने ।
बिरामी थिङमा अल्कोहलको असर घटाउन उपचार गर्दैगर्दा निमोनिया भएको थियो । चिकित्सकहरुले निमोनियाको समेत उपचार गरे । लगातार एक सातासम्म आइसियूमा राखेर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि हतास भएका उनका छोराले बुबालाई माया मारिसकेका थिए । ‘एक हप्ता बढी भइसकेको थियो आइसियूमा राखेको, केही सुधार भएको थिएन ।’ छोरा सेमार थिङले भने,‘तर, डाक्टर सावहरु र अस्पतालका दिलिप सरले तपाईको बुबा मेरो पनि बुबा हो नअत्तालिनुस धैर्य गर्नुस भनेर हौसला दिनुभयो । नभन्दै विस्तारै उहाँमा सुधार भयो ।’
लगातार अल्होहल सेवन गर्दा थिङमा नसा रोग, छारे रोग र मस्तिस्कमा मसेत असर गरिसकेको थियो । २ साता लामो उपचारपछि तङिग्रँदै गएका उनको आजै डिस्चार्ज भएको छ । ‘बाच्छु जस्तो लागेको थिएन, डाक्टर सावहरुले बचाउनु भयो । धन्यवाद डा. साव, अब रक्सी खान्न ।’ अबदेखि रक्सी सेवन नगर्ने प्रतिबद्धता जनाउँदै बिरामी थिङ्ले भने ।
नेपाल मेडिकल कलेजले स्वास्थ्य सेवामा दक्ष जनशक्तिसँगै गुणस्तरीय नविनतम उपकरणहरु भित्र्याएकाले गम्भिर प्रकारका बिरामीको उपचारमा सहजता भएको छ । दुई वर्षयता कलेज नयाँ व्यवस्थापनमा आएसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ । ‘नेपाल मेडिकल कलेज टर्सरी सेन्टर भएकोले यसको स्वास्थ्य सेवालाई सुधार गरिएको छ ।’ कलेजका अस्पताल इन्चार्ज दिलिप साहले बताए ।
अढाई दशकदेखि चिकित्सा शिक्षा क्षेत्रमा सक्रिय बसरुद्धिन अन्सारीको समुह मेडिकल कलेजमा आबद्ध भएपछि नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई सुधारिएको हो । कलेजले आउँदा दिनहरुमा विशिष्टिकृत सेवाहरु सूचारु गर्ने तयारी गरिरहेको छ । अंकोलोजी, कार्डियोलोजी, मिर्गोला तथा कलेजो प्रत्यारोपण सेवा पनि थप गर्ने योजना बनाइरहेको कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताए ।
0 प्रतिकृया