इको फोरम ग्लोबलमा भाग लिन नेपाली टोली चीन प्रस्थान
एक्सन खबर
काठमाडौं, २१ असार । यही जुलाइ ८–९ मा चीनको गुइयाङ प्रान्तमा हुने ‘इको फोरम ग्लोबल गुइयाङ २०२३’ मा भाग लिन नेपाली प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना नेतृत्वको टोली आज चीन भ्रमणमा प्रस्थान गरेको हो ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलमा पूर्वमन्त्री समेत रहेकी सांसद भगबती चौधरी, डा. चन्दा कार्की, मैना कार्की, संसद् सचिवालयका उपसचिव बिमलराज जोशी रहेका छन् । नेपाली प्रतिनिधिमण्डल राति १२:०५ बजेको चाइना साउथ एयरलाइन्सको सिजेड ३०६८ को उडानबाट ग्वान्जाओ हुँदै गुइयाङतर्फ प्रस्थान गर्नेछ।
उक्त फोरममा उपसभामुख रानाले सम्बोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । इको फोरममा वातावरणीय प्रदर्शनी, क्षेत्रीय अध्ययनहरू र नवीकरणीय ऊर्जा परियोजनाहरूका विषयमा विश्वब्यापी छलफल र विमर्शहरु हुनेछ ।
औपचारिक भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल २५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
0 प्रतिकृया