Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


इक्यान हाँक्छु भन्नेहरु, यी ११ विषय समेट्न सक्नुहुन्छ ?

एक्सन खबर
असार, २३, २०८०


इक्यान हाँक्छु भन्नेहरु, यी ११ विषय समेट्न सक्नुहुन्छ ?

शिशिर सिंखडा

शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा उम्मेदवारी दिनेहरुको लर्को लागेको छ । असार ३० गते इक्यानको निर्वाचन हुँदा शैक्षिक परामर्श क्षेत्रको हक अधिकारका लागि स्थापित यस संस्थामा स्थापनाकालदेखि आजको दिनसम्म नेतृत्वमा पुगेकाहरु प्रभावकारी नेतृत्व दिन किन असफल भए सिंहावलोकन गर्नु अपरिहार्य छ ।

इक्यानले वास्तवमा शैक्षिक परामर्श व्यवसायीको हक अधिकारका लागि जुनरुपमा काम गर्नु पर्दथ्यो त्यो गर्न सकेन । याे संस्था न पूर्णरुपमा आफ्ना उद्देश्यमा प्रतिबद्ध भयाे नत राजनीतिक रंगबाट विमुख नै । इक्यानका एकाध नेतृत्वको कार्यकालका औलामा गन्न सकिने कामलाई छाडेर अन्यको कार्यकाल फोटो झुण्ड्याउनु सिवाय केही गर्न सकेका छैनन् ।

कन्सल्टेन्सी क्षेत्रको ठूलो संस्था भएकाले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) प्रति धेरै व्यवसायीहरूको आशा तथा भरोसा छ । र, इक्यानकै निर्वाचनको बढी चासो र चर्चा पनि हुन्छ । यद्यपि, इक्यानको २६ वर्षे इतिहासमा पछिल्लो समय यसले लय बिगारेको मात्र छैन, सङ्गठनमा जानु भनेको व्यक्तिगत र दलीय स्वार्थ पुरा गर्नुबाहेक केही हैन भन्ने भाष्य नै सिर्जना गरिदिएको छ । फलस्वरुप इक्यानको नेतृत्वमा एक दशकमा जो जो गए तिनीहरूले कुनै रूपान्तरणकारी भूमिका निर्वाह गर्न सकेनन् बरु संगठनको जगमा आफ्नो स्वार्थ पुरा गरे, पद र पैसाको तुजुक देखाएर पूर्वाग्रहपूर्ण व्यवहार गरे । जुन विडम्बनापूर्ण छ ।

नारामा २६ वर्षे तन्नेरी भनेको इक्यान नीति निर्माण गर्ने र व्यवसायीका हक अधिकार सुनिश्चित गर्ने सवालमा ७० वर्षे बुढोजस्तो घिस्रिएको छ । इक्यानको नेतृत्वमा रहेकाले सबैलाई समान व्यवहार गर्न नसक्दा इक्यान जस्ता धेरै संस्थाको जन्म भएको जगजाहेर छ । आफूलाई परिवर्तनकारी भन्दै इक्यानबाट ‘जेहाद’ छेडेर बाहिरिएका हरुको हालत झनै अस्वस्थ छ । बरु इक्यान भित्रै रहेर त्यहाँको फोहर सफा गरेको भए आज सम्पूर्ण इक्यानीयनहरु गर्व गर्न लायक सङ्गठनमा छु भनेर महशुष गर्ने थिए कि !

संगठनको मर्म प्रत्येक सदस्यलाई मर्यादित बनाउनु, दक्ष तथा क्षमतावान बनाउनु हो । संगठनको उद्देश्य राज्यले ल्याउने प्रत्येक नीति, नियम व्यवसायीमैत्री, विद्यार्थीमैत्री र अभिभावक मैत्री भए भएनन्, नभए त्यसलाई सुधार गर्न लविङ गर्नु हो । यसका साथै, शैक्षिक परामर्श क्षेत्रमा देखिएका विक्रिति विसंगति विरुद्ध नियामक निकायसँग सहकार्य गरेर अगाडि बढ्नु हो । तर, इक्यानको नेतृत्वमा पुगेकाहरुले इक्यानको उद्देश्य र लक्ष्यलाई चुनाबी नारा बनाउनु वाहेक केही गरेनन् । अबको नेतृत्वमा जानेहरुले यस विषयलाई गम्भीरताका साथ लिन जरुरी छ ।

इक्यान आम शैक्षिक परामर्श व्यवसायीको साझा संगठन हुनुपर्थ्यो, तर सकेन । एक दशक यता नेतृत्वमा आएकाहरूले इक्यानलाई व्यक्तिको गुट र पार्टीको भातृ संस्था भन्दामाथि उठाउन नसक्नु दुर्भाग्य हो । इक्यानलाई नयाँ शिराबाट माथि उठाउने गर्विलो संस्था बनाउने व्यक्तिको आवश्यकता महशुष भइसकेको छ । त्यसका लागि यो निर्वाचन बलियो आधार हो ।

संस्थालाई यथास्थितिमा राखेर व्यक्तिगत स्वार्थ र गुटको अखडा बनाउने हरुबाट बचाउनका लागि यो निर्वाचनले स्पष्ट लक्ष्य, उद्देश्य र आम इक्यानीयनको साझा एजेण्डा बोकेका सक्षम व्यक्ति हरुलाई नेतृत्वमा पुर्याउन अपरिहार्य छ । यसका लागि नयाँ नेतृत्वले निम्न समस्या हरूलाई सम्बोधन गर्न जरुरी छ ।

शैक्षिक परामर्श क्षेत्रका साझा समस्याहरू

१) राज्यले नियमन, अनुगमनका नाममा पटकपटक दुखः दिने गरेको छ । यसलाई हल गर्न सबै तहका राज्यका अंगहरु सँग समन्वय, सहकार्य र लविङ गर्न बलियो पहलकदमी आवश्यक छ ।

२) जुन संस्थाले सरकारका तह तप्कादेखि नीजि क्षेत्रका बैंक तथा वित्तिय संस्था, ट्राभल्स एण्ड टुरिजम, हस्पिटालिटी, पब्लिक नोटरी, सञ्चारमाध्यम लगायतका क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै राज्यलाई कर समेत दिएको छ त्यस्तो संस्थाहरूलाई करैकरको दलदलमा फसाएको छ । यसलाई हल गर्न एकद्वार कर प्रणाली लागू गर्न पहल गर्न सक्ने क्षमतावान व्यक्ति इक्यानको नेतृत्वमा आउनुपर्छ ।

३) निश्चित व्यक्ति र समुहको स्वार्थ पुरा गर्न व्यवसायीले धान्नै नसक्ने गरी धरौटीको हल्ला फिँजाइएको छ । शैक्षिक परामर्श क्षेत्रमा धरौटी आवश्यक छैन र राज्यका सबै नियामक निकायमा दर्ता भई वैधानिक रुपमा चलेका संस्थाहरूलाई धरौटी राख्ने व्यवस्था पूर्णरुपमा बन्द गर्ने क्षमता नयाँ नेतृत्वले राख्नुपर्छ । धरौटी ल्याउनु भनेको अर्को ठूलो विक्रिति भित्र्याउनु हो ।

 ४) अव्यवस्थित, अवैज्ञानिक रुपमा ल्याइएको नो अब्जेक्सन लेटर प्रणालीका कारण विद्यार्थी र कन्सल्टेन्सी क्षेत्रले ठूलो सास्ती भोगेका छन् । विश्वका धेरै देशहरूबाट उच्च शिक्षाका लागि एक देशबाट अर्को देशमा जाँदा NOC नामको जस्तो पासो राखिएको हुँदैन । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो हाम्रै देशमा देख्न पाइएको छ । NOC अनलाइन भनिएको छ तर, व्यक्ति आफैं उपस्थित हुनुपर्छ । यस्तो अव्यवहारिक, अव्यवस्थित प्रक्रियालाई बन्द गराउने वा सुधार गर्ने ल्याकत राख्ने नेतृत्व सङ्गठनमा आउन अपरिहार्य छ ।

५) सरकारसँग प्रष्टरूपमा शैक्षिक परामर्श क्षेत्रका समस्या र विषय राख्न नसक्दा राज्यले यो क्षेत्रलाई तल्लो स्तरको व्यवहार गरेको छ । राज्यले शैक्षिक परामर्श व्यवसायीबाट विद्यार्थी र पैसा बाहिर पठाएको देख्यो तर, उनीहरूबाट सयौँ गुणा बढी रेमिट्यान्स भित्र्याएको देख्न सकेन । कमिलाले टोकेकोजस्तो अनावश्यक रुपमा बारम्बार शैक्षिक संस्थालाई टोकिरहेको राज्यसँग सशक्त पहल गर्न सक्ने, मर्यादित र व्यवस्थित रुपमा चलेका व्यवसायीहरूलाई प्रोत्साहन गर्ने दीर्घकालीन सोच र भिजन सहितको व्यक्ति नेतृत्वमा आउनु पर्दछ ।

६) सञ्चालन हुँदै गरेका TITI लगायत तालिम बीचैमा रोकिएको दुई वर्ष हुन लाग्यो । अहिले शैक्षिक परामर्श क्षेत्रमा दक्ष जनशक्तिको अभाव खड्किइरहेको छ । इक्यानको नेतृत्वमा आउनेले अबका दिनमा TITI लगायतका तालिम, प्रशिक्षणहरू नियमित रुपमा चलाउन सक्नुपर्छ ।

७) विदेशी कलेजहरूले भिजा रद्द भएका विद्यार्थीहरूको शुल्क फिर्ता गर्न विलम्ब गर्दा शैक्षिक परामर्श दाताहरू अभिभावक र विद्यार्थीको निशानामा परिरहेका छन् । शैक्षिक शुल्क विलम्ब गर्ने विदेशी कलेज र विश्वविद्यालयसँग आवश्यक समन्वय गर्ने र यथाशीघ्र शुल्क फिर्ताको वातावरण बनाउन पहल गर्ने रणनीति बनाउने नेतृत्व अब इक्यानमा जरुरी छ ।

८) विदेशी कम्पनीहरूले नेपालमा आएर काम गरिरहँदा उनीहरूले ठूलो फाइदा बटुलिइरहेका छन् । विश्वका कलेज र विश्वविद्यालयलाई इक्यानले आफ्नो छाताभित्र ल्याई इक्यानका सदस्यबीचमा साझेदारी गर्ने होभने आपसी सम्बन्ध झन बलियो हुनेछ साथै, शैक्षिक परामर्श संस्थाहरू विदेशी संस्थाहरूबाट समस्यामा पर्ने थिएनन् । यस विषयलाई गम्भीरताका साथ उठाउने व्यक्ति नेतृत्वमा पुग्न जरुरी छ ।

९) इमान्दारिताका साथ काम गरी विद्यार्थी, अभिभावकको विस्वास जित्ने संस्था र व्यक्तिहरुलाई अवसर दिन नसक्नु इक्यानको कमजोरी हो । वर्षौँदेखि शैक्षिक परामर्श क्षेत्रमा समर्पित व्यवसायीलाई सम्मान गर्ने, अवसर दिने, उनीहरूको सुखः दुःखमा साथ दिने नेतृत्व इक्यानमा आउनुपर्छ यसका लागि विगतमा उनीहरुले गरेका काम, व्यवहारलाई यो पटकको निर्वाचनमा मूल्यांकन गर्नु पर्दछ ।

१०) ‘स्मार्ट इक्यान’ नारामा मात्र सिमित भयो । व्यवहारिक हिसाबले स्मार्ट इक्यान चुनावी घोषणामा मात्र राख्नु हुन्न । यसलाई साँच्चिकै व्यवहारमा उतार्न सक्नुपर्छ । इक्यानको नेतृत्वमा नपुग्नेहरूले यसलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छ ।

११) उदाहरणका लागि भारतमा कुनैपनि विद्यार्थीले शैक्षिक परामर्श लिनुपूर्व परामर्श दातासँग समय लिएर अग्रिम शुल्क बुझाउन पर्ने प्रावधान छ । त्यस्तैगरी नेपालमा पनि नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाका परामर्श दाताहरूबाट परामर्श लिनका लागि निश्चित प्रावधान ल्याउन आवश्यक छ । यसो गरेको खण्डमा विद्यार्थी ठगिने, गलत सूचनाबाट जोगिएर दुर्घटना हुनबाट बच्न सक्छन् । यस विषयमा गम्भीरताका साथ सोच्ने, काम गर्ने, व्यक्ति इक्यानको नेतृत्वमा आउन जरुरी छ ।

अन्त्यमा,

लोकतान्त्रिक पद्दतिको वकालत गर्ने व्यवहारमा चैं दलीय सिन्डीकेट लगाएर एकाध व्यक्तिलाई मात्रै अवसर दिँदा त्यसले कुनैपनि संस्थामा परिवर्तन आउँदैन । इक्यानलाई सम्पूर्ण इक्यानीयन हरुको साझा संस्था हो भन्ने तर, व्यवहारमा आफ्नै सदस्यलाई दुखः पर्दा मुख फर्काउने स्वनाम बुद्धिजीवी हरुलाई पाखा लगाए मात्र संस्था सबैको साझा बन्न सक्छ । अरु बेला बाटोमा भेटिँदा नमस्कार गर्दापनि नफर्काउने हरु अहिले संस्थासंस्थामा गएर साष्टाङ्ग दण्डवत गर्नेहरु धेरै छन् । यिनले समग्र इक्यानीयनको हित गर्नु त परै जावोस् भएको साखलाई पनि धुलिसात पार्छन् । आफ्नै संस्था धराशायी भएकाहरू आज इक्यानको नेतृत्व गर्छु भनेर सामाजिक सञ्जालमा कुर्लिरहेका छन् । यस्ता व्यक्ति र प्रवृत्ति विरुद्ध आम इक्यानीयन गोलबद्ध हुनु आजको आवश्यकता हो ।

आजसम्म इक्यानकाे नेतृत्व ४६७ सदस्यको साझा बन्न सकेको छैन । असार ३० गतेको निर्वाचनबाट सबैको साझा नेतृत्व छान्ने अधिकार आम इक्यानीयन लाई आएको छ । यस अवसरलाई निष्पक्ष, स्वतन्त्र र कसैको दवाव, प्रभावमा नपरीकन सदुपयोग गरौँ । इक्यान हाम्रो हो, हामी इक्यान प्रति गर्व गर्छौ भन्ने बनाउन हामी सबैले अब सोच्न जरुरी छ ।

लेखक सिंखडा क्याम्ब्रिजका संस्थापक निर्देशक हुन् ।













0 प्रतिकृया