इक्यानको सचिबमा एलबी तामाङको स्वतन्त्र उम्मेदवारीः कुनैपनि प्रकारको सेवा सुविधा नलिने घोषणा
एक्सन खबर
काठमाडौं, २४ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा शैक्षिक परामर्श व्यवसायी लालबहादुर तामाङ (एल.वी) ले सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । इक्यानलाई राजनीतिक रंगबाट मुक्त गर्दै नयाँ ढंगबाट सञ्चालन गर्नकालागि तामाङले कुनै गुट उपगुटमा नरही स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
विगत १५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय तामाङले इक्यानलाई पारदर्शी, मितब्ययी, प्रविधिमैत्री र व्यवसायी मैत्री बनाउनका लागि आफुले सचिब पदका लागि उम्मेदवारी दिएको जिकीर गरे । ‘नेपाल शैक्षिक परामर्श व्यवसायी संघलाई जुनरुपमा नेतृत्व दिएर लैजानुपर्दथ्यो त्यो भएन । यसलाई आम शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्थाका रुपमा विकास गर्दै पारदर्शी, मितब्ययी र प्रविधिमैत्री बनाउन कुनै दल र संगठनको झण्डा नओढीकन मैले उम्मेद्वारी दिएको हुँ ।’ तामाङले भने ।
इक्यानलाई पारदर्शी, मितव्ययी, प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउन आफु सक्रिय रुपमा लाग्ने तामाङको जोड छ । उनले इक्यानलाई सुधार्नेदेखि व्यवसायीका साझा समस्याहरुलाई समेत उठाएका छन् । उनले इक्यानमा रहेर काम गर्दा कुनैपनि प्रकारको भत्ता, भ्रमण खर्च र आर्थिक सहायता नलिने घोषणा पनि गरेका छन् । ‘व्यवसायीको हक अधिकार सुनिश्चित गर्न तथा इक्यानलाई सुधार्न त्यहाँ जाने भएकाले म निर्वाचित भएर गएको खण्डमा कुनैपनि प्रकारको भत्ता, तलव सुविधा लिन्न ।’ तामाङले भने ।
उनले इक्यान कुनै व्यक्तिको संगठन नरहेको र परिवारको विरासत पनि नभएकाले यसलाई आम शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन बनाउनु पर्नेमा जोड दिँदै आज शैक्षिक परामर्श क्षेत्र हरेक समस्याबाट प्रताडित भइरहेको अवस्थामा त्यसलाई हल गर्नका लागि सक्षम नेतृत्वको खाँचो रहेको पनि औल्याएका छन् ।
लालबहादुर तामाङ (एलबी) का एजेण्डाहरुः
१) शिक्षा मन्त्रालयले उठाइरहेको धरौटीको विषयमा घनिभूत वहस गर्दै निर्णायक तहमा लैजाने ।
२) संसदमा विचाराधिन शैक्षिक परामर्श निर्देशिकालाई व्यवसायीमैत्री बनाउन पहल गर्ने ।
३) इक्यानमा नयाँ सदस्यहरूको प्रवेश र शिक्षा मन्त्रालयबाट दिनुपर्ने स्वीकृतिका मुद्दाहरूलाई उठाउने ।
४) विभिन्न कम्पनीका फ्रेन्चाइज, शाखा र विदेशी लगानीलाई नेपाली लगानीमैत्री बनाउन पहल गर्ने ।
५) विभिन्न देशका दुताबासबाट जारी हुने भिजा र त्यसको प्रक्रियाका बारेमा इक्यानका सदस्यलाई सहजीकरण र तालिमको व्यवस्थापन गर्ने ।
६) शैक्षिक परामर्श क्षेत्रको बजार विस्तार र विश्लेषण गरी इक्यानका सदस्यलाई जोड्ने ।
७) शैक्षिक परामर्श संस्था र विद्यार्थीबाट नेपालको कूल ग्राहस्थ उत्पादनमा पुर्याउँदै आएको योगदानको बारेमा राज्यको दृष्टिकोणलाई परिवर्तन गर्ने ।
८) शैक्षिक परामर्श क्षेत्रले ‘दक्ष जनशक्ति बाहिर पठायो’ भन्ने भाष्यलाई बदली सीपसँगै रेमिट्यान्स पठाएर विद्यार्थीले पुर्याएको योगदानको बारेमा सरोकारवालालाई बुझाउने ।
९) विदेशमा अध्ययनको प्रवृत्ति, अभिभावक, राष्ट्र र विद्यार्थीहरूले कसरी अधिकतम लाभ पाउँछन् भन्ने विषयमा योजना, कार्यक्रम बनाएर वहस गर्ने ।
१०) कन्सल्टेन्सी, विदेशी कलेज तथा विश्वविद्यालयहरूबाट हुने ठगी, ढिलासुस्ती र गलत कृयाकलापमा निगरानीको पहल गर्ने ।
११) विद्यार्थीको ट्यूसन शुल्क, बीमा, करका मुद्दाहरू बारे सरोकारवालासँग वहस, छलफल गर्दै विश्वसनीयताको सुनिश्चितता गर्ने ।
१२) इक्यानलाई प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउँदै आम शैक्षिक परामर्श व्यवसायीहरुको अभिभावक संस्थाका रुपमा विकास गर्ने ।
१३) इक्यानलाई पारदर्शी बनाउँदै यसको संरचनागत सुधार गर्ने ।
१४) मोफसलमा रहेका व्यवसायी साथीहरुको मुद्दा र समस्यामा हरदम साथ दिने ।
१५) इक्यानलाई पूर्णतः व्यवसायीको साझा संस्था बनाउने, राजनीति र गुट उपगुटबाट मुक्त गर्ने ।
0 प्रतिकृया