सीता दाहाल प्रति राष्ट्रपति, कांग्रेस सभापति र बालेन शाहकाे समवेदना
एक्सन खबर
काठमाडौं, २७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् । दाहालको निधन खबरले आफूलाई दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेका छन् ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो । उनकाे निधनमा कांग्रेस सभापति, काठमाडाैंका मेयर बालेन शाहले समेत समवेदना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालको निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुगेका थिए ।
यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री प्रचण्डले सहयात्री गुमाएको भन्दै मेयर बालेनले सीताप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
उनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्छु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
0 प्रतिकृया