Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


केएमसीले ल्यायो नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

एक्सन खबर
असार, २९, २०८०


केएमसीले ल्यायो नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

काठमाडौं, २८ असार । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप भित्र्याएको छ । भारतका केहि अस्पतालहरूसँग मात्र भएको रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप केएमसीले नेपालमै पहिलोपटक भित्र्याएको हो ।

न्यूरोसर्जरीका जटिल रोगहरूको उपचार र सुरक्षित र प्रभावकारी शल्यक्रिया गर्ने उद्देश्यले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको केएमसीको न्यूरोसर्जरी विभागका प्रमुख प्रा. डा. अमित थापाले बताए ।

‘यो सर्जिकल माइक्रोस्कोपमा एडभान्स भिज्युलाइजेसन सिस्टम रहेकाले बिरामीको शुक्ष्म किसिमको ट्युमरहरु, एक मिटिमिटर भन्दा सानो साइजका नसाहरु हेर्न, पहिचान गर्न र टाँकाहरु लगाउन सक्छौं ।’ सर्जिकल माइक्रोस्कोपले टाउको ट्युमर तथा ढाडका नसा च्यापिएका लगायत जटिल शल्यक्रियाहरु सहज र प्रभावकारी रुपमा गर्न सकिने डा. थापाले बताए ।


जर्मन प्रविधिको उक्त सर्जिकल माइक्रोस्कोपले डिजिटल र अप्टिकल भिज्युलाइजेशन मोडालिटीहरू संयोजन गर्दै माइक्रो–इन्स्पेक्शन उपकरण र सर्जन–नियन्त्रित रोबोटिक्सको सेवा प्रदान गर्नेछ । साथै, यो नेभिगेसन प्रणालीले शल्यक्रियाका क्रममा कुनैपनि अवरोध विना जुन ठाउँको शल्यक्रिया गर्नुपर्ने हो त्यसलाई मात्रै निश्चित गर्न सहयोग पुग्ने डा. थापाको दावी छ ।

‘यो प्रविधिमा दुरविनलाई टाढा राखेर थ्रिडी चस्मा लगाएर स्क्रिनमा हेरेर शल्यक्रिया गर्न सक्छौं । इण्डोस्कोपीले सानो प्वाल बनाएर बिरामीको टाउको भित्र के छ भन्ने जानकारी लिन सक्छौं । र, यसमा फिल्टरहरु समेत रहेकाले मस्तिस्कका ट्युमरहरु, रगतको नसाहरुमा रगतको प्रवाहहरु कस्तो छ भन्ने हेर्न सक्छौं ।’ यो सबै विधि सर्जिकल माइक्रोस्कोपमा भएकाले जटिलभन्दा जटिल न्यूरोसर्जरीका रोगहरुको सहज र सुरक्षितरुपमा शल्यक्रिया गर्न सकिने डा. थापाले बताए ।

यो माइक्रेस्कोपमा पूर्णरूपमा एकीकृत फोर के क्यामेरा र इन्फ्रारेड आठ सय, फ्लो ८०० र यल्लो ५६० जस्ता फिल्टरहरू समेत रहेकाले भास्कुलर तथा ट्युमर शल्यक्रियामा उत्कृष्ट परिणाम दिने केएमसीको दावी छ ।

स्वास्थ्य क्षेत्रमा पछिल्लो समय भएका एक सय भन्दाबढी आविष्कारहरू मध्ये केएमसीले भित्र्याएको सर्जिकल माइक्रोस्कोप सबैभन्दा आधुनिक प्रविधि हो । यो माइक्रोस्कोपको प्रयोगले टाउको नखोलिकन ट्युमर, ढाडको नशा च्याप्पिएको लगायतको शल्यक्रिया गर्नकालागि न्यूरोसर्जनहरूलाई महत्वपूर्ण सहयोग पुग्ने तथा बिरामीलाई पनि निक्कै सहज हुने डा. थापाको भनाई छ ।

सर्जिकल माइक्रोस्कोपबाट गरिने स्वास्थ्य उपचारको शुल्क सरकारी अस्पताल सरहनै राखिएको छ । प्रविधिमा करोडौं खर्च गरेपनि सरकारी अस्पतालको तुलनामा सुलभ दरमा अत्याधुनिक उपचार सेवा उपलब्ध गराउन केएमसी प्रतिबद्ध रहेको कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् ।

पछिल्लो समय केएमसीले आफ्नो न्युरोसर्जरी विभागलाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ । न्यूरोसर्जरीमा टाउको नखोलिकन सानो प्वालमार्फत गरिने सर्जरी, दूरबीनको प्रयोगले ढाडको नशा च्यापिएको खोलने वा स्क्रुले चिप्लेको हाडलाई आफ्नो स्थानमा मिलाउने, एन्डोस्कोपिक स्पाइन सर्जरी), दूरबीनको प्रयोगले प्वालमार्फत टाउकोभित्र जमेको रगतलाई निकालने एन्डोस्कोपिक हेमाटोमा एवयूकेशन), ब्रेकियल प्लेक्सस सर्जरी, रोबोटिक सर्जरी र नवजात शिशुको न्यूरो सर्जरी सेवाहरु उपलब्ध रहेका छन् ।

केएमसीले नेपालमै पहिलो पटक रोबोटिक माइक्रोस्कोपबाट स्वास्थ्य उपचार थालेको थियो यसअघि क्रेनियल रोबोट (प्रिसिजन न्यूरोसर्जरीका लागि), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको ३ टेस्ला एमआरआई र एआई सहितको बाई–लेन क्याथ ल्याबलगायतका अत्याधुनिक उपकरणहरु केएमसीले भित्र्याई सकेको कलेजका महाप्रबन्धक नारायण दाहालले बताए ।

तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य समेत रहेका डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त बनाउने योजना अनुसार यसको सेवाहरुलाई द्रुतगतिमा सुधारिएको छ ।














0 प्रतिकृया