नेकका विद्यार्थीलाई जापानमा रोजगारी दिन एमओयू
एक्सन खबर
काठमाडौं, ३० असार । नेपाल इन्जिनियरिङ कलेज (नेक)का विद्यार्थीहरुलाई जापानमा रोजगारीको अवसर दिलाउने सन्दर्भमा आइमाक इन्जिनियरिङ कम्पनीविच सम्झौता भएको छ । आइमाक इन्जिनियरिङका प्रतिनिधिले असार पहिलो साता कलेजको भ्रमण गर्दै कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई जापानमा रोजगारीको अवसर दिने विषयमा छलफल गरेका थिए ।
बिहीबार नेपाल इन्जिनियरिङ कलेज र आइमाक इन्जिनियरिङ कम्पनीका प्रतिनिधि विच एमओयूमा हस्ताक्षर भएको छ । कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र आइमाक इन्जिनियरिङका प्रतिनिधिले एमओयूमा हस्ताक्षर गर्दै यसले नेपाली विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई अन्तराष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुग्ने पनि बताए ।
देशको औद्योगिक क्षेत्रको विकास र विस्तारमा यस सहकार्यले योगदान पुग्ने बताइएको छ । जापानी कम्पनीहरू र नेपाली कलेज विश्वविद्यालयविच आपसी विकासको सहकार्य गर्ने योजना बनाइएको छ । जापानी कम्पनीहरूमा नेपाल इन्जिनियरिङ कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूको प्राविधिक सीप विकास गर्ने, जापानी कम्पनीहरूको विदेश विस्तारमा सहयोग गर्ने तथा नेपालको श्रम बजारको विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको छ ।
विगतमा धेरै विद्यार्थीहरू जापानको विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाको लागि गइसकेको र कयौं विद्यार्थीहरू अध्ययन पुरा गरी जापानका विभिन्न कम्पनीहरु काम गरिरहेका छन् । ती विद्यार्थीहरूको कामको गुणस्तर र कामप्रतिको लगनशीलता देखेर आइमाकले सहकार्य गरेको हो ।
केही समयपछि नेकका विद्यार्थीहरूलाई नेपालमै ६ महिनाको तालिम दिएपछि जापानमा रोजगारीको करार गरिने भनिएको छ । जापानमा दुई वर्ष अस्थाई रोजगारी दिइने र त्यसपछि उनीहरुको काम र दक्षता हेरेर स्थाई रोजगारीमा नियुक्त दिइने छ ।
सन् १९८५ मा स्थापना भएको यस कम्पनीमा ८० प्रतिशत नेपालीहरू कामदार रहेका छन् । जापानमा मात्रै १० वटा शाखाहरू रहेको यस कम्पनीले नेपाल र चीनमा पनि शाखा विस्तार गरेको छ ।
0 प्रतिकृया