कांग्रेसद्धारा १४ बुँदे नीति तथा कार्यक्रम पारित
एक्सन खबर
धरान, ३० असार । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीको क्षेत्रीय तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको बन्द–सत्रले विभिन्न १४ बुंदे नीति तथा कार्यक्रम पारित गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको बन्द–सत्रले नीति तथा कार्यक्रम पारित गरेको हो ।
बन्द सत्रले समृद्ध धरान, बराह क्षेत्र र रामधुनीलाई समुन्नत, समृद्ध बनाउन पहल गर्ने, सहकारीमा डुवेको जनताको पैसाबारे राज्यको ध्यानाकर्षण गराई न्यायोचित निकास दिलाउन पहल गर्ने, धरानसँग सीमा जोडिएका नगरपालिकाहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास आदि क्षेत्रमा सहकार्य गर्ने, जातिय, लिङ्गीय, सामाजिक, सांस्कृतिक, धार्मिक विभेद तथा सबैखाले विभेदको अन्त्य गर्दै राज्यको श्रोत, साधनमा समान पहुँच स्थापित गर्दै समतामूलक र समावेशी समाज निर्माण गर्न पहल गर्ने भनेको छ ।
यस्तै, राज्यको कार्यकारी जिम्मेवारीमा पुगेका नेताहरु भ्रष्टचार, अनियमितता र जघन्य अपराधहरुमा मुछिनु, पार्टी सञ्चालन तथा अवसर र जिम्मेवारी प्रदान गर्दा नेतृत्वहरु गुटगत अभिप्रायले प्रेरित हुुनु, अवसर प्राप्त गर्नका लागि जे पनि गर्ने तर अवसर पाईसकेपछि पार्टी र पार्टीको नीति तथा कार्यक्रमलाई भुल्ने, पटक पटक आफुले मात्र अवसर लिने प्रवृत्ति, आफुले पाए ठीक अरुले पाए वेठिक भन्ने मानसिकता, पार्टीमा भएको दण्डहीनता आदि कारणले पार्टीमा क्षयीकरण हुने क्रम बढेको भन्दै नेतृत्व सच्चिनु पर्ने ठहर गरिएको छ ।
पार्टीमा सबै जना अनुशासन, मर्यादा र आचारसंहिताभित्र रहनुपर्ने भन्दै भ्रष्टाचार र जघन्य अपराधमा संलग्न जोकोहीलाई सफाई नपाएसम्म तत्काल निलम्वन गर्नुपर्ने बैठकको माग छ । भ्रष्टाचारी, बलात्कारी, तस्कर, चोर, डाका, ठग, हत्यारा, अपहरणकारी, लागु औषध ओसारपसार तथा विक्री वितरण गर्ने, घरेलु हिंसा गर्ने, मानव अधिकारको उल्लंघन गर्ने, वालश्रम शोषण गर्ने, छुवाछुत, जातीय, सामाजिक, धार्मिक, सांस्कृतिक विभेद गर्ने, खाद्यान्नमा मिसावट, कालोबजारी गर्ने, कृतिम अभाव सिर्जना गर्ने कसैलाई पनि पार्टीवाट संरक्षण नगर्ने भनेको छ ।
बैठकले मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने र पार्टीलाई सहभागितामूलक र सामुहिक रुपले सञ्चालन गर्ने, स्वास्थ्य र वातावरणको क्षेत्रमा गर्दै आएको अभियानलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने, पार्टी संगठनलाई सशक्तिकरण, सुदृढिकरण र शुद्धिकरण गर्ने निर्णय गरेको छ । यसका ललावा प्रि इलेक्सन गठबन्धन नगर्ने समेत निर्णय गरेको क्षेत्रीय सभापति तामाङले जानकारी दिए ।
0 प्रतिकृया