नेकका उपप्राध्यापकलाई अमेरिकी विश्वविद्यालयमा पूर्णछात्रबृत्तिमा पिएचडी गर्ने अवसर
एक्सन खबर
काठमाडौैं, ४ साउन । मुनाफा रहित सामाजिक शैक्षिक संस्थाको रुपमा सञ्चालित चाँगुनारायण भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज (नेक) का एक उपप्राध्यापकले अमेरिकाको विश्वप्रसिद्ध विश्वविद्यालयमा पूर्णछात्रबृत्तिमा पिएचडी गर्ने अवसर प्राप्त गरेका छन् ।
कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागमा कार्यरत उपप्राध्यापक दयासागर निरौलाले आयोवा स्टेट युनिभर्सिटिमा पूर्णछात्रबृत्तिमा पिएचडी गर्ने अवसर पाएका हुन् ।
विगत १६ महिनादेखि नेकको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागमा अध्यापनरत इन्जिनियर निरौलाले विगतमा विद्युत उत्पादन, वितरण तथा विद्युतीय सामग्रीहरूको डिजाइन जस्ता विषयहरू कलेजका स्नातक तहका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका छन् ।
बुधबार कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागमा आयोजित कार्यक्रममा उक्त विभागका विभागीय प्रमुख यमकृष्ण पौडेल तथा विभागका अन्य शिक्षकहरूले इन्जिनियर निरौलालाई बिदाई गर्दै सफलताको शुभकामना दिए ।
छोटो समयमा अध्यापन कलामा आफ्नो कौशलता देखाउन सफल तथा विद्यार्थीहरू माझ लोकप्रिय इन्जिनियर निरौलाले कलेजमा अध्यापनको क्रममा सिकेको थप ज्ञान तथा सिपले विद्यावारिधिको अवसर पाउन मद्दत गरेको बताउँदै कलेजले सेवा गर्न अवसर दिएकोमा कलेज परिवारलाई धन्यवाद दिए ।
विद्यावारिधि पछि कलेजमा पुनः सेवा गर्न चाहेमा कलेजको ढोका खुल्लै हुने जानकारी कलेजले उपप्राध्यापक इन्जिनियर निरौलालाई दिएको छ । सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले शिक्षक, विद्यार्थीलाई विश्वका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग सहकार्य गराउँदै आएको छ ।
यसका लागि युरोप, जापान लगायत विश्वका प्रतिष्ठित विश्वविद्यालय, कलेज र कम्पनीहरुसँग एमओयू गरेको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए ।
0 प्रतिकृया