अवैध सुन आयातमा मेरो संलग्नता छैन : दीपक मलहोत्रा
एक्सन खबर
काठमाडौं, ४ साउन । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद करिब एक क्विन्टल सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् । उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए ।
किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताए । अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे ।
उक्त प्रकरणमा राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका छन् ।
विमानस्थलबाट चिनियाँ नागरिकसहित दुई पक्राउ
सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक सय किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।
0 प्रतिकृया