डा. भगवान काेइरालाकाे अस्पताल बनाउन बेलायतबाट २३ लाख बढी सहयोग
एक्सन खबर
लन्डन, ६ साउन । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा नेपालमा शुरु गरिएको बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतबाट रु २३ लाखभन्दा बढी सहयोग संकलन भएको छ ।
गत जुलाई ८ तारिख अल्डर शटमा आयोजित च्यारिटी डिनरबाट खर्च कटाएर १३,७७१.८० पौण्ड बचत भएको च्यारिटी डिनर आयोजक समितिका एक सदस्य चार्टर्ड एकाउन्टेन्ट सचिन श्रेष्ठले बताए । यसबाहेक नेप्लिज डक्टर्स एशाेसिएशन युकेले उक्त परियोजनाका लागि ५,००५ पौण्ड सहयोग प्रदान गरेको छ भने हेल्थ एक्सचेन्ज नेपालले खोलेको जस्ट गिभिंग पेजबाट ६,००० पौण्ड संकलन भैसकेको छ ।
तमु धी युकेले एक लाख सहयोग गरेको थियो । यसरी अहिलेसम्म रू २३ लाखभन्दा बढी जम्मा भैसकेको श्रेष्ठले बताए । नेप्लिज एकाउनटेन्टस एशाेसिएसन यु के तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले पनि सहयोग संकलन गरिरहेका छन् । सहयोग संकलन हुने क्रम जारी छ ।
डा कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालका सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । काठमाडौंको हेपाली हाइटमा बाल अस्पताल निर्माणाधीन छ भने दमकमा निर्माण भै रहेको अस्पतालले सेवा शुरु गरिसकेको छ ।
कार्यक्रममा नेप्लिज डक्टर्स एशाेसिएसन यूके र कियोचबीच तालिम, प्रशिक्षण, सीप हस्तान्तरण लगायत क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको थियो । यसअघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखको कार्यालयमा आयोजित एक कार्यक्रममा सभामुख सर लिन्ड्से होयलले डा. कोइरालाको कामबारे सुनेर आफू निकै प्रभावित भएको बताएका थिए । उनले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउँदै नेपालमा बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका थिए ।
फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंहले नेपालमा निर्माणाधीन अस्पताल परियोजनालाई सघाउने बेलायत निवासी सबै मनकारी नेपालीहरुलाई हार्दिक धन्यवाद दिएका छन् । उनले उक्त परियोजनालाई सफल बनाई सातै प्रदेशमा बालबालिकाहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा पुराउने यो अभियानलाई तन, मन र धनले सघाउन अपिल पनि गरेका छन् ।
0 प्रतिकृया