Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


बारा कांग्रेस सचिव र नेकपा एसका सह सचिवमाथि कुटपिटमा संलग्न प्रहरीलाई अझै भएन कारवाही

एक्सन खबर
साउन, ६, २०८०


बारा कांग्रेस सचिव र नेकपा एसका सह सचिवमाथि कुटपिटमा संलग्न प्रहरीलाई अझै भएन कारवाही

बारा, ६ साउन । गत साउन दुई गते सोमबार राती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा करिब सातदिन अगाडी कलैया–बघवन सडकमा भएको पिकअप भ्यान र मोटरसाइकल दुर्घटनाको विषयमा छलफल तय भयो ।

प्रहरीले दुबै पक्षलाई छलफलका निम्ति कार्यालय आउन आग्रह गर्यो । त्यसपछि दुबै पक्षले आ–आफ्नो नजिककालाई सहजिकरण गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा आउन आग्रह गरे । दुबै पक्षका व्यक्तिहरु प्रहरी कार्यालयमा पुगे, त्यसमध्ये थिए नेपाली कांग्रेसका बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादी बारा जिल्ला कमिटीका सहसचिव ध्रुव यादव ।  

छलफल सुरु नहुँदै उनीहरुलाई देखेपछि एकाएक प्रहरी निरीक्षक रूपेश साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन’ भनेपछि सचिव यादव र सहसचिव यादवले प्रहरीलाई मर्यादित हुन र सभ्य भएर कुरा गर्न आग्रह गरे । त्यसपछि प्रहरी र उनीहरुबिच प्रतिवाद सुरु भयो । प्रतिवाद हुँदाहुँदै सचिव यादव र सहसचिव ध्रुव यादवमाथि प्रहरीले कुटपिट सुरु गर्याे ।  

त्यसमा संलग्रता थिए प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह । दुबै मिलेर सचिव यादव र ध्रुव यादव माथि जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा निर्घात कुटपिट गरे । त्यसछि प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिए ।

सो घटना सार्वजनिक भएपछि बाराको कलैयामा तनावग्रस्त बन्यो । सरकारमा रहेका गठबन्धनका दुई घटकका जिल्ला सचिव र सहसचिवलाई कुटपिट भएको थाहा भएपछि उनीहरु आन्दोलित भए र घटनामा संलग्रता रहेका प्रहरी अधिकृतलाई निलम्वन र बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको सरुवाको माग गरे ।

घटना भएको तिन दिन बितिसक्दा समेत प्रहरीले घटनाको छानबिन गरेको छैन । यता बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र वाेगटीले सो रात प्रहरी र सचिव तथा उपसचिवसँग सामान्य वादविवाद भएको तर कुनै कुटपिट नभएको भन्दै प्रहरीको बचाउ गरे ।

तर सो घटनाका प्रत्यक्षदर्शी समेत हुदाँहुदै पनि उनीहरुको बचाउ गरेपछि आन्दोलन झन चर्कियो । शुक्रबारसम्म यो घटना आईपुग्दा आन्दोलित समुहले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारा घेराउ गरे ।

प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ ।सवारी दुर्घटना सम्बन्धि विषयमा छलफल गर्न पुगेका बेला यादवमाथि कुटपिट भएको भन्दै कांग्रेसले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रहरीले कांग्रेस सचिव यादवलाई कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्ब्यहार गरेको भन्दै एकिकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ । दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध रयाली तथा विरोधसभाको आयोजना गरिएको हो ।

विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।

कांग्रेस बाराले पार्टीका जिल्ला सचिव तथा नेकपा एकिकृत समाजवादी बारा जिल्ला कमिटीका सहसचिवमाथि कुटपिट गर्ने प्रहरी अधिकृत र बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कानुनी कारवाहीको माग पचरौता नथरपालिकाले गरेको छ ।

सरुवा थमाैति गर्दै प्रहरी उपरीक्षक


२०७९ साउन ८ गते नेपाल प्रहरी प्रधान कार्यालय कानून शाखा नक्सालबाट काजमा बारा आएका प्रहरी उपरिक्षक एसपी होबिन्द्र बोगटी बारा आएको एक वर्ष भयो । यो बिचमा उनको सरुवाको निम्ति तिन–चार पटक सिफारिस भएको थियो । तर, उनी यसअघि प्रहरी प्रधान कार्यालयमा भएका कारण उनको सरुवा सिफारिस हुने वित्तिकै थाहा पाउने भएकाले तुरुन्तै काठमाडौं पुगेर सरूवा थमाैति गर्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले नाम नखुलाउने सर्तमा भने, ‘उहाँको सरुवाको सिफारिस चारपाँच दिन अगाडी गर्ने भनेर हामीले तयारीमा थियौं तर उहाँलाई यहाँबाट खबर गएछ तुरून्त यहाँ आउनु भो र हाललाई सरुवा थमाैति गरेर फर्किनु भयो ।’

जिल्लामा रहेका प्रहरी प्रमुख, ईलाका प्रहरी कार्यालयमा रहेका प्रमुखहरुको कार्यकाल वढिमा एक वर्षको मात्रै हुन्छ । काजमा गएकाहरुको हकमा भने प्रहरी प्रधान कार्यालयले कुनै बखतमा फिर्ता बोलाउने र त्यहाँ अन्यलाई पठाउने गर्छ ।
 















0 प्रतिकृया