Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीहरुको विदाई

एक्सन खबर
साउन, ६, २०८०


नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीहरुको विदाई

काठमाडौं, ६ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका सिभिल एण्ड रुरलका नव इन्जिनियरहरुलाई विदाई गरिएको छ । कलेजले आज एक औपचारिक कार्यक्रम गरी सिभिल एण्ड रुरल इन्जिनियरिङका १७ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाही थिए । विद्यार्थीहरुलाई मायाको चिनो, प्रमाणपत्र वितरण गर्दै अध्यक्ष डा.शाहीले नेपालको विकासमा इन्जिनियरहरुको महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै इमान्दार र नैतिकवान भएका काम गर्न सुझाए । आफुले पढेको कलेज, शिक्षकहरुलाई सम्मान गर्दा जीवनमा अगाडी बढ्न सहज हुने बताउँदै व्यवसायीक जीवनमा पनि सफलता प्राप्त हुने बताए ।

नेपालमा एक हजार जनामा करिब ३ जना मात्र इन्जिनियर रहेको बताउँदै परिषद्मा दर्ता भएकाहरुको संख्या ७८ हजार जति रहेको तर, जनसंख्याका अनुपातमा इन्जिनियरहरुको संख्या धेरै कम रहेको पनि बताए । जीवनमा सदैव पढिरहनु पर्ने बताउँदै अध्यक्ष शाहीले व्यवसायीक र व्यक्तिगत जीवनमा सफल बन्न इमान्दार, लगनशील हुनुपर्ने सुझाए ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य प्रा.डा.हरिकृष्ण श्रेष्ठले कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु नै कलेजका ब्राण्ड एम्बेष्डर रहेको चर्चा गर्दै विद्यार्थीले सफलता प्राप्त गर्दा कलेजले गर्वगर्ने बताए । ‘आफ्नो स्कीललाई सदुपयोग गर्नुहोस्, तपाईहरुको क्वालिटी नै कलेजको विज्ञापन हो ।’ प्रा.डा. श्रेष्ठले भने । उनले इन्जिनियरिङ विधाका पाठ्यक्रमहरु समयसापेक्ष परिमार्जन नहुँदा समस्या भइरहेको जनाउँदै विश्वविद्यालय लगायत सरोकारवालाहरुले गम्भिर भएर पाठ्यक्रम सुधार्नुपर्नेमा जोड दिए ।

कलेजका भाइसप्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले इमान्दारीता, लगनशीलता र कडा परिश्रमबाट नै सफलता पाइने बताउँदै विश्वविद्यालयको परीक्षा पास गरेर गइसकेपछि विद्यार्थीको सही परीक्षा सुरु हुने बताए । ‘विश्वविद्यालयको परीक्षा पास गरेर जानु त भयो तर, तपाईहरुको जीवनको कठिन परीक्षा अब सुरु हुँदैछ । व्यवसायिक जीवन र व्यक्तिगत जीवनमा सफलता हासिल गर्न कडा मेहनत, इमान्दार र लगनशील हुनुपर्छ ।’ भण्डारीले भने ।

सो अवसरमा विदाई भएका विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै नव इन्जिनियरहरु पुजा राई, अञ्जली पाण्डे, माधब केसी लगायतले साँढे चार वर्ष कलेजमा अध्ययन गर्दा हासिल गरेका अनुभवहरु साटासाट गर्दै कलेजबाट किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र सीप समेत सिक्न पाएकाले आउँदा दिनहरुमा त्यसलाई जीवनमा उपयोग गर्ने बताए ।

कार्यक्रममा कलेजका प्रशासन प्रमुख श्रीमा शर्मा, प्रा.डा. गणेश साह, सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रमुख सुनिल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न विद्यार्थीहरुलाई व्यक्तिगत अवार्ड समेत वितरण गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेजको सिभिल एण्ड रुरल विषय सन् २००८ बाट सुरु गरेको विषय हो । कलेजमा स्नातक, मास्टर्स गरी इन्जिनियरिङ विधाका ६ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ ।


















0 प्रतिकृया