स्वास्थ्य क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाेमा सांसद सुनिल शर्मालाई सम्मान
एक्सन खबर
काठमाडौं, १४ साउन । सांसद डा. सुनिलकुमार शर्मा सम्मानीत भएका छन् । चेलिबेटी बेचविखन, मानव ओसारपसार जस्ता जघन्य अपराध विरुद्ध काम गर्दै आइरहेको माइती नेपालले नेपालको स्वास्थ्य क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै प्रतिनिधि सभा सांसद डा. शर्मालाई सम्मान गरेको हो ।
आज मानव बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर समाजसेवी डा. शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सम्मान गरेका हुन् ।
नेपालमा स्वास्थ्य क्षेत्रको विकास र प्रवद्र्धनमा अतुलनीय योगदान गरी स्वास्थ्य सेवालाई नेपलको संविधान २०७२ ले परिकल्पना गरेको जस्तो सर्वसुलभ र पहुँचयोग्य बनाउनमा प्रभावकारी भूमिका खेल्दै समाजमा पछाडि पारिएका सिमान्तकृत, सुविधाविहिन र अभिभावकविहिन माइती नेपालका सेवाग्राही महिला तथा बालबालिकाहरुको प्रतिष्पर्धा र स्वास्थ्य सेवामा सहज र सुपथ पहुँच विस्तार गर्नुभएकोमा सम्मान गरिएको बताइएको छ ।
सो अवसरमा बोल्दै मन्त्री सुरेन्द्रराज आचार्यले समेत डा. शर्माले स्वास्थ्य सेवा, समाजसेवा र मानवीय कार्यमा गरेको योगदानको प्रशंसा व्यक्त गर्दै डा. शर्माजस्ता व्यक्तित्वहरुको देशको लागि खाँचो रहेको औंल्याए । मानव बेचबिखन तथा चेलिबेटी बेचबिखनका सवालमा मन्त्रालयले काम गरिरहेको चर्चा गर्दै मन्त्री आचार्यले समाजमा रहेका सबै तह र तप्काका व्यक्तिहरुले यस विरुद्ध काम गर्नुपर्ने बताए ।
सम्मान ग्रहण गर्दै डा. शर्माले मानवीय संवेदनाका क्षेत्रमा काम गर्न आफुलाई माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले गरेको कामबाट प्रेरणा मिलेको बताउँदै यो देशको लागि अनुराधा कोइराला जस्तो व्यक्तिको खाँचो रहेको बताए । ‘मेरो आमाको उमेरको हुनुहुन्छ । यो उमेरमा पनि हाम्रो भन्दाबढी उत्साह, उमंग र इनर्जीसहित विश्व बजारमा समस्यामा पर्नुभएको, बेचबखनमा पर्नुभएको महिला, बालबालिकाहरुको उत्थानमा आफ्नो जीवनमै समर्पण गर्नुभएर लाग्नु भएको छ । यस्तो रोलमोडल ब्यक्ति पाएकोमा हामीले गर्व गर्नुपर्छ ।’
डा. शर्माले नेपालको राजनीतिमा इमान्दारिता र नैतिकता हराउँदै गएको चर्चा गर्दै राज्य सत्तामा कू–पात्रहरुको उपस्थिति भएकाले देशको विकास हुन नसकेको इङ्गित गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री नेतृत्वको भन्सार कार्यालय रहेको र त्यहाँबाट दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी भएपनि अर्थमन्त्रीले जिम्मा नलिएको चर्चा गर्दै डा. शर्माले भने,‘अर्थमन्त्रीको नेतृत्वको भन्सार कार्यालय छ, भन्सारको अधिकृत भर्खर चेञ्ज गरेर पठाइएको छ । दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ । अर्थमन्त्री जिम्मा लिँदैनन्, एकातिर यस्ता कूपात्रहरुहरु देश लुट्नमा तल्लिन छन् अर्कोतिर यस्तो सूपात्रहरु जसलाई हाम्रा सन्ततीहरुले अनुराधा दिदिबाट अलिकति पनि सिकिदिए भने हाम्रो निम्ति गर्वको विषय हुन्थ्यो ।’ अनुराधा कोइरालाले चेलिबेटी बेचबिखन विरुद्ध गरेका कामको मुक्तकण्ठले प्रशंसा गर्दै डा. शर्माले भने ।
माइती नेपालको अभियानमा जोडिएर थोरै सहयोग र सहकार्य गर्दा आफु समेत गौरवान्तिक भएको बताउँदै डा. शर्माले सो अवसरमा माइती नेपाललाई एम्बुलेन्स दिने घोषणा समेत गरे । स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स लिने स्वीकृति ल्याएको ७२ घन्टाभित्र एम्बुलेन्स दिने जनाउँदै माइती नेपालले उद्दार गरेर ल्याएका महिला, बालबालिकाहरुको स्वास्थ्य उपचारको जिम्मा आफुले लिने समेत घोषणा गरे ।
डा. शर्मा काठमाडौं मेडिकल कलेजको कार्यकारी अध्यक्ष हुँदा नै माइती नेपालले उद्दार गर्ने दसौं हजार यौनकर्मी, एचआइभी पिडित, अनाथ तथा असहाय बालबालिकाहरुको निःशुल्क उपचारमा गरिदिने घोषणा गरेका थिए । सोही अनुसार केएमसीले निःशुल्क उपचार गरिदिँदा आफुहरुलाई स्वास्थ्य उपचारमा ठूलो राहत मिलेको संस्थापक अध्यक्ष कोइरालाले कार्यक्रममा बताइन् । साे अवसरमा काठमाडाैं मेडिकल कलेजलाई समेत सम्मान गरिएकाे थियाे ।
0 प्रतिकृया