Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


‘कू–पात्रहरु देश लुट्नमा तल्लिन छन्’ सांसद सुनिल शर्मा (भिडियाे सहित)

एक्सन खबर
साउन, १४, २०८०


‘कू–पात्रहरु देश लुट्नमा तल्लिन छन्’ सांसद सुनिल शर्मा (भिडियाे सहित)

काठमाडौं, १४ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको भन्दै उनीहरुको राजीनामा माग गर्दै आएका सांसद डाक्टर सुनिलकुमार शर्माले कू–पात्रहरुका कारण देश विग्रिएको बताएका छन् ।

आइतबार माइती नेपालले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोमा सम्मान गरेपछि बोल्दै नेपाली कांग्रेसका सांसद डा. शर्माले अर्थमन्त्रीलाई कू–पात्रको संज्ञा समेत दिए । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले समाज र देशका लागि महत्वपूर्ण योगदान गरेकामा प्रशंसा गर्दै पद र शक्तिमा रहेकाहरुले भने केही गर्न नसकेको डा. शर्माको दावी छ ।

डा. शर्माले नेपालको राजनीतिमा इमान्दारिता र नैतिकता हराउँदै गएको चर्चा गर्दै राज्य सत्तामा कू–पात्रहरुको उपस्थिति भएकाले देशको विकास हुन नसकेको इङ्गित गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री नेतृत्वको भन्सार कार्यालय रहेको र त्यहाँबाट दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी भएपनि अर्थमन्त्रीले जिम्मा नलिएको चर्चा गर्दै डा. शर्माले भने,‘अर्थमन्त्रीको नेतृत्वको भन्सार कार्यालय छ, भन्सारको अधिकृत भर्खर चेञ्ज गरेर पठाइएको छ । दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ । अर्थमन्त्री जिम्मा लिँदैनन्, एकातिर यस्ता कू–पात्रहरुहरु देश लुट्नमा तल्लिन छन् अर्कोतिर यस्तो सू–पात्रहरु जसलाई हाम्रा सन्ततीहरुले अनुराधा दिदिबाट अलिकति पनि सिकिदिए भने हाम्रो निम्ति गर्वको विषय हुन्थ्यो ।’ अनुराधा कोइरालाले चेलिबेटी बेचबिखन विरुद्ध गरेका कामको मुक्तकण्ठले प्रशंसा गर्दै डा. शर्माले भने ।



डा. शर्माले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए आफु संसद भवनभित्रै आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनको घोषणासँगै अर्थमन्त्री र गृहमन्त्रीको टाउको दुखाई भएको छ । सत्तारुढ दलका सांसदहरुबाटै अर्थ र गृहमन्त्रीको विरोध भएपछि सत्ता गठबन्धनमा समेत खटपट भएको छ ।

मानवीय संवेदनाका क्षेत्रमा काम गर्न आफुलाई माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले गरेको कामबाट प्रेरणा मिलेको बताउँदै यो देशको लागि अनुराधा कोइराला जस्तो व्यक्तिको खाँचो रहेको पनि बताए । ‘मेरो आमाको उमेरको हुनुहुन्छ । यो उमेरमा पनि हाम्रो भन्दाबढी उत्साह, उमंग र इनर्जीसहित विश्व बजारमा समस्यामा पर्नुभएको, बेचबखनमा पर्नुभएको महिला, बालबालिकाहरुको उत्थानमा आफ्नो जीवनमै समर्पण गर्नुभएर लाग्नु भएको छ । यस्तो रोलमोडल ब्यक्ति पाएकोमा हामीले गर्व गर्नुपर्छ ।’

सो अवसरमा डा. शर्माले माइती नेपाललाई एम्बुलेन्स दिने घोषणा समेत गरे । स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स लिने स्वीकृति ल्याएको ७२ घन्टाभित्र एम्बुलेन्स दिने तथा माइती नेपालले उद्दार गरेर ल्याएका महिला, बालबालिकाहरुको स्वास्थ्य उपचारको जिम्मा आफुले लिने समेत घोषणा गरे ।













0 प्रतिकृया