नेशनल मेडिकल कलेजमा खेल सामग्रीहरुको प्रदर्शनी (फाेटाे फिचर)
एक्सन खबर
विरगञ्ज, १९ साउन । नेशनल मेडिकल कलेजले बालबालिकाहरुको मानसिक तथा शारिरीक विकासका लागि अपरिहार्य खेल सामग्रीहरुको प्रदर्शनी गरेको छ । कलेजको पिसिएल नर्सिङ तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बिहीबार कलेजको अस्पताल परिसरमा बालबालिकाहरुको खेल सामग्रीहरु प्रदर्शन गरेका हुन् ।
बालबालिकाहरुको शारिरीक तथा मानसिक विकासका लागि स्वस्थ आहारविहारसँगै सोही प्रकारको शारीरिक र मानसिक वृत्तिविकास गराउन कस्ता खेल र खेल सामग्रीहरुको पनि आवश्यक पर्दछ भन्ने जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कलेजकी नर्सिङ क्याम्पसकी भाइसप्रिन्सिपल बबिता सिंहले जानकारी दिइन् ।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुलाई उमेर समुह अनुसार चाहिने खेल सामग्रीहरु प्रदर्शनी गरिएको थियो । सो क्रममा अस्पतालमा उपचारार्थ आएका बालबालिका, अभिभावक र बिरामीहरुले समेत प्रदर्शनीको अवलोकन गरेका थिए ।
पछिल्लो समय अभिभावकहरु कामकाजी हुँदा घर परिवारमा बालबालिकाहरु एक्लिँदै गइरहेका छन् । त्यसमाथि अभिभावकहरुले बालबालिकालाई भुल्याउन मोवाइल दिने गरेकाले बालबालिकाहरु एकोहोरो हुने, रिसाहा हुँदै अभिभावकहरुबाटै टाढिनेसम्म भइरहेका छन् । बालबालिकाहरुलाई मोवाइल, इन्टरनेटको लतबाट टाढा राख्न उनीहरुसँगै अधिकतम समय अभिभावकले सूचनामुलक खेल सामग्रीहरुसँग खेल्नुपर्ने सुझाइएको छ ।
कार्यक्रममा उमेर समुह अनुसार आफ्नो घर आँगनमा कस्ता खेल सामग्रीहरु खेल्दा बालबालिकाहरुको छिटो शारिरीक तथा मानसिक विकास हुन्छ भन्ने जानकारी दिइएको थियो । प्रदर्शनीमा कलेजका प्राचार्य, निर्देशक, चिकित्सक, नर्स तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
नेशनल मेडिकल कलेज मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था हो । कलेजले समयसमयमा सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
0 प्रतिकृया