ललितपुरको च्यासलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १९ साउन । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले ललितपुरको च्यासलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज हिमालयन इन्जिनियरिङ कलेजसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
उक्त स्वास्थ्य शिविरमा ६८१ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार स्वास्थ्य शिविरमा ८७ जनाको इसिजी, १४२ जनाको भिडियो एक्सरे तथा ९८ जनाको ल्याब परीक्षण गरिएको छ । यस्तैगरी, १३ जनाको दाँत खोलिँदा ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, नसा तथा हाडजोर्नी, बाल रोग तथा जनरल मेडिसिन सम्बन्धी चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरकाे प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधी रहेका थिए । साे अवसरमा उनले केएमसीले जनताकाे स्वास्थ्य सेवामा पुर्याएकाे याेगदानकाे प्रशंसा गरे ।
केएमसीले स्वास्थ्य शिविरमा आएका बिरामीहरु रेफर भएर उपचारका लागि आए विभिन्न छुटहरु दिने गरेको छ । आम सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउन निःशुल्क स्वास्थ्य शिविर चलाईएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताईन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य अभियानबाट हज्जारौं सर्वसाधारण लाभान्वित भइसकेका छन् ।
0 प्रतिकृया