नेकका पूर्व विद्यार्थी विद्युत उत्पादन कम्पनीकाे सिइओ
काठमाडाैं, २० साउन । नेपाल इन्जिनियरिङ कलेज(नेक)मा स्नातकोत्तर तहमा सन् २००७ देखि सञ्चालित अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमका पूर्व विद्यार्थी विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।
नेकका पूर्व विद्यार्थी इन्जिनियर बखत बहादुर शाहिले नेपालको विकट क्षेत्रहरुमा विद्युत विकास परियोजनाहरूको सफल कार्यन्वयनमा पुर्याएको योगदानको उचित मूल्याङ्कन गरी सरकारले विद्युत उत्पादन कम्पनी लिमिटेडको सिइओमा नियुक्त गरेको हाे ।
जलश्रोत व्यवस्थापन प्राकृतिक तवरले नै अन्तरविधा हुने हुँदा यस्को प्राविधिक विधामा मात्र जोड दिँदा परियोजनाहरू सफल कार्यान्वयन नहुने र अपेक्षित लाभ हासिल गर्न नसकिने तथ्यलाई मनन गरी नेकले १६ वर्ष अगाडि स्नातकोत्तर तहमा सन् २००७ देखि अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको थियो ।
लोकसेवा आयोगको २०५२ सालको नियममा कार्यक्रम उल्लेख नहुँदा र २८ वर्ष सम्मपनि उक्त नियम अध्यावधिक नहुँदा उक्त कार्यक्रमबाट उत्तीर्ण विद्यार्थीहरूले सरकारी सेवामा पदोन्नतीमा बेलाबखत दुःख पाएपनि निजी तथा गैरसरकारी संस्थाहरूले उक्त कार्यक्रमबाट उत्तीर्ण विद्यार्थीहरूलाई रुचाउने गरेको तथ्याङ्कले देखाउँछ ।
यहि कार्यक्रमबाट उत्तीर्ण विद्यार्थीहरू अहिले विभिन्न सरकारी निकायहरूमा सहसचिव सरहको पदमा सेवा दिइराखेका छन् । तर नियम समयोचित परिमार्जन तथा अध्यावधिक नहुँदा तथा केही निर्णयकर्ताहरूको परम्परागत सोचका कारण देशले अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमबाट उत्पादित जनशक्तिको पूर्ण सदुपयोग गर्न सकेको छैन ।
सरकारी तवरबाट सर्वेक्षण गरी विद्युत उत्पादनको लागि उचित देखिएका आयोजनाहरू कार्यान्वयन गर्ने काम विद्युत उत्पादन कम्पनी लिमिटेडले गर्दछ । संघीयस्तरका तीनवटा मन्त्रालयहरू, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष जस्ता निकायहरूको समेत लगानी हुने व्यवस्था भएको विद्युत उत्पादन कम्पनीको प्रमुख कार्यकारीको जिम्मा पाएकोबाट पनि अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमको महत्व थप उजागर भएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
मुनाफारहित उद्देसश्यले चाँगुनारायण नगरपालिका भक्तपुरमा सञ्चालित कलेजबाट उच्च शिक्षा हासिल गरेका अनगिन्ती जनशक्तिहरू सरकारी, गैरसरकारी तथा निजी प्रतिष्ठित संस्थाहरूमा कार्यरत छन् ।
0 प्रतिकृया