महानगरकाे छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार १७२ जना विद्यार्थी सहभागी
एक्सन खबर
काठमाडौँ । काठमाडाैं महानगरपालिकाले कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि लिएकाे प्रवेश परीक्षामा ५ हजार १७२ जना विद्यार्थी सहभागी भएका छन् । शिक्षा विभागले आज लिएकाे प्रवेश परीक्षामा ६ हजार १७ जनाले आवेदक विद्यार्थी रहेकाेमा ५ हजार १७२ जना विद्यार्थी सहभागी भएका हुन् ।
आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भएकाे महानगरले जनाएकाे छ । परीक्षामा ८४५ जना आवेदक गयल भएका छन् । आवेदकमध्ये ४ हजार १५५ जना विज्ञान विषयका थिए । जसमा ३ हजार ७१३ जनाले परीक्षा दिएका छन् । १ हजार ४८४ जना व्यवस्थापन विषय आवेदकमध्ये १ हजार १८० जनाले परीक्षा दिएका छन् ।
२४५ जना प्राविधिक विषयका आवेदकमध्ये १७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ । १५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वहुवैकल्पिक उत्तर राखेर बस्तुगत परीक्षा (ओएमआर) लिइएको हो । यस प्रकारको परीक्षा प्रणाली धेरै आवेदकहरुबाट तत्काल परीक्षा लिएर मूल्याङ्कन गर्नका लागि उपयुक्त मानिन्छ । परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा ४० अङ्क प्राप्त गर्नुपर्छ । योग्यता क्रम निर्धारण गर्दा उच्चतम अङ्कलाई आधार मानिने, गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिनेछ ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९ प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिबासी र जनजातिलाई १५प्रतिशत, मधेसीलाई १२प्रतिशत, खसआर्यलाई १७प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ ।
दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २ प्रतिशत, थारुलाई ४ प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४ प्रतिशत, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइनेछ ।
यस्तै, पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।
0 प्रतिकृया