इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा होम अप्लायनसेसकाे अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
काठमाडाैं, २३ साउन । भदाै १५ गतेदेखि राजधानीमा इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएकाे छ । भृकुटीमण्डप प्रदर्शनी हलमा ‘नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेस’ सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुन गइरहेको हाे ।
मिडिया स्पेस सोलुसन्स् तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को संयोजकत्वमा आयोजना हुने प्रदर्शनीमा विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धि सामग्रीहरूकाे प्रदर्शनी तथा विक्रि हुनेछ । यो प्रदर्शनीको दोस्रो संस्करण हो ।
प्रदर्शनी, सम्मेलन र साझेदारीका सवालमा आधारभूत रूपमा तीन सोचहरूको प्रदर्शनीमा समायोजन गर्न खोजेको बताइएकाे छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने भनिएकाे छ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्येका एक भएकाे र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेकाे जिकीर छ ।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तैः एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेका छन् ।
नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुने जनाइएकाे छ । यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउने अपेक्षा गरिएकाे छ ।
नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेकाे तथा बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू भएका छन् । नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत रहेकाे, जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने बताइएकाे छ ।
0 प्रतिकृया