संसदमा प्रधानमन्त्रीले जवाफ दिएपछि मात्र संसद खुल्छ :सांसद भगबती चौधरी
एक्सन खबर
काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने नेकपा एमालेकी नेतृ एवं सांसद भगबती चौधरीले बताएकी छन् । गृहमन्त्रीले मंगलबार संसद्मा दिएको जवाफ पक्ष–विपक्षको भाषण सुनाए जस्तो लागेको टिप्पणी गर्दै अब प्रधानमन्त्रीले नै संसदमा संवाेधन गर्नुपर्ने बताइन् ।
नेपाली बहसमा कुरा गर्दै नेतृ चौधरीले गृहमन्त्रीले सीआईबी वा अरू निकायलाई स्वतःस्फूर्त काम गर्न दिन्छौं पनि नभनेर भाषण मात्रै गरेकाले अब प्रधानमन्त्रीले प्रस्ट र चित्तबुझ्दो जवाफ दिनुपर्ने जिकिर गरेकी हुन् । यसो नभए कुनैपनि हालतमा संसद् चल्न नदिने उनको दाबी छ । ‘गृहमन्त्रीकाे जवाफ प्रष्ट रूपमा आएन, अब प्रधानमन्त्री पुष्पकमल दाहालले क्विन्टल सुन प्रकरणमा संसदमा आएर जवाफ दिनुपर्छ ।’ चाैधरीले भनिन् ।
उच्चस्तरीय छानबिन समिति गठन नै एमालेको ‘बटमलाइन’ भएको बताउँदै चौधरीले सुन प्रकरणमा भरिया मात्र हैन मालिक नै समात्नुपर्नेमा जाेड दिइन् । सरकारले भरिया समातेर ठूलै सफलता हासिल गरेकाे जस्ताे दम्भ देखाएकाे चाैधरीकाे भनाइ छ ।
लगातार संसद अवरूद्ध गर्दा जनमानसमा एमालेप्रति नकारात्मक सन्देश गयाे, एमालेको अरू कुनै काम छैन, खालि संसद् अवरोध मात्र गर्ने ? भन्ने प्रश्नमा जवाफ दिँदै चाैधरीले भनिन्, ‘त्यति धेरै सुन ल्याउँदाखेरि भरियालाई मात्र समातेर हुन्छ ? उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्दा सबै दोष एमालेलाई दिने ? संसद् चल्न नदिनु पनि कामै हो नि । हामीले बिना कारण संसद् अवरोध गरेको हो र ?’
सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै साउन १० गतेयता एमालेले संसद् अवरोध गर्दै आएको छ । मंगलबार गृहमन्त्रीले संसदमा जवाफ दिएपनि एमालेले बुधबार संसद अरूद्ध गर्दै उच्चस्तरीय छानविन समिति गठन गर्नैपर्ने माग दाेहाेर्याएकाे छ ।
0 प्रतिकृया