‘सरकारले आफैं अनुसन्धान गर्छुभन्दा कसैले पत्याउँदैन’ सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडौं, २४ साउन । राज्य संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएकोले क्विन्टल सुन तस्करी प्रकरणमा सिआइवीको अनुसन्धान मात्र काफी नहुने नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले बताएका छन् ।
बुधबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अबरुद्ध गरेसँगै संसद भवनबाट बाहिरिँदै सांसद शर्माले सरकार मातहतका निकायहरुको असक्षमताका कारणले गर्दा सुन बाहिरिएको जिकीर गर्दै उच्चस्तरीय छानविन समिति गठन गर्नु उपयुक्त हुने बताए ।
यसअघिको संसद बैठकमा अर्थमन्त्री र गृहमन्त्रीले तत्कालै राजीनामा दिएर सुन तस्करी प्रकरणको निष्पक्ष छानविन गर्न सहयोग नगरे संसद भवनभित्रै आमरण अनसन बस्ने चेतावनी दिएका डा. शर्माले पुनः अर्थ र गृहमन्त्रीले राजीनामा दिनुपर्ने दोहोर्याए ।
‘यसको समाधान सरकारले दिनुपर्छ । सरकारका मातहतका निकायहरुको असक्षमताका कारणले गर्दा सुन बाहिरिएको छ । म आफैं अनुसन्धान गर्छुभन्दा कसैले पत्याउँदैन ।’ सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै डा. शर्माले भने,‘सिआइविले राजस्व अनुसन्धानले छानविन गर्ने प्रक्रिया ठिक छ तर, त्यसलाई पनि अनुगमन गर्ने उच्चस्तरीय निकाय हुनुपर्छ ।’
सिआइवीमा भएकाहरु जागिरे भएकाले उनीहरुले भोलीका दिनमा गृहमन्त्री र प्रधानमन्त्रीलाई नै हस्तक्षेप गर्नुपर्ने स्थिति आए गर्न नसक्ने डा. शर्माको दावी छ । साथै, उनले उच्चस्तरीय छानविन समितिलाई टाइमफ्रेम दिएर अनुसन्धान गर्नुपर्ने बताए ।
उनले कांग्रेस सचेतकले भनेजस्तै यो प्रकरणलाई संसदीय सुनुवाई समितिको राज्य व्यवस्था समितिमा लगेर पूर्णअधिकार सहित जिम्मा दिन पनि सकिने बताए । तर, यस विषयमा माओवादी केन्द्रले नमानिरहेको उनको भनाई छ ।
अहिलेको प्रकरण नीतिगत प्रश्न समेत रहेको भन्दै उनले भने,‘देशको अन्तराष्ट्रिय एयरपोर्टलाई क्याप्चर गरेर लुटपाट मच्चाउन पाउनेकी नपाउने राज्य संयन्त्र प्रयोग गरेर भन्ने प्रश्न हो । यो क्विन्टलमा मात्र छैन टनमा छ ।’
0 प्रतिकृया