सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग गर्ने सांसद सुनिल शर्मा पक्राउ
एक्सन खबर
काठमाडाैं, २५ साउन । क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिक जिम्मेवारी लिँदै अनुसन्धानमा सहयोग गर्न पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका सांसद डा. सुनिलकुमार शर्मा पक्राउ परेका छन् । डा. शर्मालाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले मण्डिखाटार स्थित निवासबाटै पक्राउ गरेको हो ।
त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा राज्य संयन्त्रकै संलग्नता भएकोले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सहयोग नगरे संसदमै आमरण अनसन बस्ने घोषणा गरेका नेपाली कांग्रेसका सांसद डा. शर्मालाई व्यूरोले सभामुखलाई समेत जानकारी नदिई पक्राउ गरेको हो ।
डा. शर्मालाई सिआइवीको कार्यालय लैनचौर पठाइएको छ ।
संसद चलिरहेका बेला सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी गराउनु पर्ने भएपनि डा. शर्मालाई बिना जानकारी पक्राउ गरिएको पाइएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले डा. शर्मा पक्राउ परेको कुनै पनि जानकारी नआएको बताएका छन् ।
0 प्रतिकृया