प्रचण्डले सांसद सुनिल शर्मालाई पक्राउ गरेर नयाँ आतंक श्रृजना गरेः प्रकाश रायमाझी
एक्सन खबर
काठमाडौं, २५ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सरकारले नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मालाई पक्राउ गरेर अति संवेदनशील विषयलाई फेरि अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन् । शर्मा आफ्नै निवासबाट पक्राउ परेपछि रायमाझीले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘नेपाली कांग्रेसका सांसद शर्मालाई पक्राउ गर्ने नाउँमा अहिले आन्तरिक विवादमा अल्झेको सरकारले अति संवेदनशील विषयलाई फेरि अन्यत्र मोड्न खोजिएको छ ।’–उनले लेखेका छन् । हरेक मानिसहरुलाई थुनामा राखेर अनुसन्धानको बहानामा प्रचण्डपथको सत्ता कब्जा गर्ने उद्दण्डताको आभास भइरहेको उनको भनाइ छ ।
सरकारले साधारण सिपमुलक व्यवसायीलाई समेत आतंकित गरेर गृह प्रशासनले प्रजातन्त्रको मूल्य मान्यता र सिद्धान्त उपहास गरेको रायमाझीको तर्क छ । कर्मचारीहरू माथि नियन्त्रण गर्ने निकायहरु नहुँदा मुलुक झन् अराजक हुँदै गएको दावी गर्दै विश्लेषक रायमाझीले यही मौकामा भ्रष्ट कर्मचारीहरुले राज्य दोहन गर्ने छुट पाएको समेत बताएका छन् । जनता आफैँले आफ्नो हक अधिकारको रक्षा गर्न बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था उत्पन्न भएको रायमाझी बताउँछन् ।
अनेकौं घटना र काण्डहरु उब्जेको विद्यमान परिस्थितिमा सरकारले विधिको शासन लागू गर्न नचाहेको आरोप लगाउँदै उनले लेखेका छन्,‘प्राकृतिक मौलिक हक अधिकारको समेत उपेक्षा गरेर हरेक विषयमा प्रतिशोध र राजनीतिक पूर्वाग्रह राखेर राज्यआतंक खडागर्दा पनि प्रतिपक्ष अन्य राजनीतिक दलहरु भागबन्डा र निहित स्वार्थ पूर्तिमा उद्दत हुनु देशको दुर्भाग्य हो ।’
पछिल्लो समय प्रतिनिधि सभा र राष्ट्रियसभा गैर जिम्मेवार बनेर मुलुकलाई दिशाहीन बनाइरहेको टिप्पणी गर्दै रायमाझीले त्यस्ता सांसदहरुलाई राज्यले पाल्नुपर्ने दुर्भाग्य भएको उनको भनाई छ । ‘राष्ट्रको अति संवेदनशील एवं महत्वपूर्ण विषयमा नत छलफल गर्छन् नत सरकार त्यस तर्फ उन्मुख छ प्रतिनिधि सभा र राष्ट्रियसभा गैर जिम्मेवार बनेर मुलुकलाई दिशाहीन बनाइरहेका छन् । यस्ता सांसद्लाई राज्यले पालेर राख्नुपरेको छ।’–उनले लेखेका छन् ।
सरकारी नीतिले उद्योगी व्यवसायीहरु आत्महत्याको अवस्थामा पुुगेको उनले उल्लेख गरेका छन् । सामान्य मुद्दाहरुलाई स्याबासी पाउने नाममा अतिरन्जित गरिएको उनको तर्क छ । लेखक समेत रहेका रायमाझीले पृथ्वीनारायण शाहको सालिकमा पुनः आक्रमण गरेर आतंकबादको घाउ दोहोरिएको बताए ।
जातिय द्वेष र घृणाको राजनीति गरेर सुन्दर नेपाललाई गृहयुद्धको भुमरीमा धकेल्ने कूचेष्टा नेपालीले सहन नसक्ने समेत उनले चेतावनी दिएका छन् । ‘बहुभाषा, बहुजाति, बहुसंस्कृतिको उद्यगम स्थल नै यो देशको परिचय हो । यही विशेषतालाई अनुभव गर्न चाहनेहरु नेपाललाई खुला विश्वविद्यालयको रुपमा हेर्ने गर्छन् ।’–उनले लेखेका छन् ।
शर्मालाई गोल्फुटारस्थित निवासबाटै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज पक्राउ गरेको हो । शर्माले सुन तस्करी प्रकरणमा असन्तृष्टि जनाउँदै सदनमै अर्थ र गृहमन्त्रीको राजीनामा मागेका थिए । उनलाई नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ ।
0 प्रतिकृया