सांसद सुनिल शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनकः कांग्रेस संसदीय दल
एक्सन खबर
काठमाडौं, २६ साउन । आफ्ना सांसद सुनिल कुमार शर्मालाई सिआइवीले पक्राउ गरेको विषयमा कांग्रेस संसदीय दलले अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । शुक्रबार संसदीय दलको कार्यालयमा बसेको बैठकले आइतबार थप छलफल गरेर निर्णय गर्ने भन्दै सांसद शर्मालाई पक्राउको विषय अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो ।
बिहीबार अपरान्ह केन्द्रीय प्रहरी अनुसन्धान व्यूरोले सांसद शर्मालाई उनको निवासबाटै ५ वर्ष अगाडीको नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ गरेको थियो । ‘सांसद सुनिल शर्माको पक्राउ आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने ।
यस्तै बैठकमा प्रमुख सचेतक लेखकले सुन प्रकरणको छानबिन गर्ने अधिकार संसदको राज्य व्यवस्था समितिलाई दिन सकिने बताए । संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत बोलाउन सक्ने भएकाले उक्त विकल्पमा जान सकिने उनको भनाई छ ।
प्रमुख सचेतक लेखकले राखेको विकल्पमा सांसद दिलेन्द्र बडुले समर्थन जनाउँदा नेता अर्जुननरसिंह केसीले पूर्व सर्वोच्च अदालतको बहालवाला न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउन सकिने जिकीर गरे ।
0 प्रतिकृया